वीरगंज (पर्सा), १० साउन / मुङको दाल ल्याइएको कन्टेनरमा ठूलो परिमाणमा प्रतिबन्धित विदेशी चुरोट बरामद भएपछि त्यसरी ल्याउने कम्पनीलाई वीरगंज स्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ११ करोड जरिवाना गरेको छ । भन्सार कार्यालयका अनुसार दालको कन्टेनर भित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौं टोखाको कालिका इन्टरप्राइजेज प्रालिलाई जरिवाना गरिएको हो । यसका सञ्चालक काठमाडौं टोखाका नवराज गिरीले भन्सार क्लियरिङ एजेन्ट निरन्जन घिमिरेसँग मिलेमतोमा ठूलो परिमाणमा विदेशी चुरोट भित्र्याउन खोजेको थिए ।
यससँगै कम्पनी संचालक गिरी र भन्सार एजेन्ट घिमिरेका नाममा पक्राउ पुर्जी जारी गरिएको छ । हेटौंडा स्थायी घर भएका घिमिरे वीरगंजमा नै बसोबास गर्दै भन्सार क्लियरिङ एजेन्टको काम गर्दै आएका हुन् । दुवै जनालाई पक्राउ गरी यथाशीघ्र कार्यालयमा दाखिला गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पक्राउ पुर्जीको माग गरिएको छ । अवैध किसिमले ठूलो परिमाणमा विदेशी चुरोट ल्याएको उक्त फर्मलाई पटकपटक पत्रचार गरी कार्यालयमा उपस्थित हुन बोलाउँदा पनि नआएकाले साउन ६ मा पर्सा प्रहरीलाई पक्राउ गरी दाखिला गर्न पत्र पठाएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए ।
कार्यालयलाई झुक्याएर मालसामान पास गराउन खोजेको आयातकर्ता कम्पनीका सञ्चालक र एजेन्टलाई भन्सार कार्यालयले १० करोड ७२ लाख रुपैयाँ जरिवाना निर्धारण गरेको छ । उक्त रकम तिरेपछि सो कम्पनीले माल लैजान पाउने कार्यालयले बताएको छ । अन्यथा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढ्नेछ । कन्टेनरमा दालसहित चुरोट बरामद भएको थियो । उक्त कन्टेनर भन्सार कार्यालयले शिल गरी जफत गरेको छ ।
दुबईदेखि ल्याइएको थियो चुरोट
दालको कन्टेनरमा बरामद भएको चुरोट दुबईबाट भारत हुँदै नेपालसम्म आइपुगेको हो । दुबईबाट भारतसम्म पानीजहाजमा र भारतको कोलकत्ताबाट रेलमार्ग हुँदै वीरगंज सुक्खा बन्दरगाहमा आएको (जीइएसयू ५०४८८०३४५ जी१) नम्बरको कन्टेनरमा गत जेठ दोस्रो साता आइपुगेको थियो । गत जेठ १३ मा शंका लागि कन्टेनर खोलेर चेकजाँच गर्दा २६ हजार ६ सय १० किलो दाल घोषणा गरिएको कन्टेनरमा १४ हजार ८ सय २५ किलो मात्र दाल थियो । यसबाहेक ५८ लाख ३८ हजार ४ सय खिल्लीका चार सय कार्टुन विदेशी चुरोट भएको फेला परेको थियो ।
कन्टेनर खोलेर हेर्दा अगाडि र पछाडिको भागमा मुङ दालको बोरा र बीचमा भने चुरोटका कार्टुन राखेको भेटिएको थियो । कन्टेनरबाट इन्डोनेशियन ब्रान्ड गुडाङ गरम र बेलायती ब्रान्ड मोन्ड भेरियन्सका चुरोटहरु फेला परेको थियो । गुडाङ गरमले इन्डोनेशियामा ’सूर्य’ ब्रान्ड नाममा समेत चुरोट उत्पादन गरेर विश्वका विभिन्न देशका बजारमा पु¥याउने गरेको छ । गुडाङ गरम र मोन्ड भेरियन्स दुवै ब्रान्डका विदेशी चुरोट नेपाली बजारमा अहिले पनि पाइराखेका हुन् । तर भन्सार नाकालाई छक्याएर कर छली गर्दै यसरी ठूलो परिमाणमा चुरोट भित्र्याउन खोजिएको फेला परेको भने पहिलोपटक नै भएको बताइएको छ ।
नेपालमा पछिल्लो पाँच वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणासम्म बढेपछि अहिले चुरोट असाध्यै महँगो भएको छ । नेपालमा उत्पादन भइ बिक्री हुने चुरोटमा ५५ देखि ७० प्रतिशतसम्म कर लाग्ने गरेको छ । चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, भ्याट लगायतका कर लाग्ने गरेको छ । जुन कर अन्य देशमा चुरोटमा लगाएको भन्दा धेरै रहेको समेत बताइन्छ । यसका बाबजुद स्वदेशी चुरोट बजारमा सूर्य नेपालको एकछत्र राज छ । उत्पादकका रुपमा अन्य प्लेयर छिरेर बजार बनाउन र नाफा कमाउन निक्कै मुस्किल छ ।
यसकारण उत्पादनको जोखिम नलिइ आयात गरेर तुलनात्मक रुपमा सस्तो खरिद मुल्यमा तिरेर ल्याउन सकिने विदेशी ब्रान्डका चुरोट बिक्री गर्न खोज्ने व्यापारीहरु पनि छन् । सोही किसिमले विदेशी चुरोटको व्यापार गर्न खोजेका गिरीले छक्याएर भन्सार कटाउन खोजेको चार सय कार्टुन विदेशी चुरोट समातिएको हो । साभार : विजमाण्डु







प्रतिक्रिया दिनुहोस् !