वीरगंज (पर्सा), १९ कात्तिक । विद्यार्थीहरूलाई संसदीय अभ्यास, लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी अधिकारबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘कानूनी आवाज अभियान ४.०’ अभियान ८० भन्दा बढी विद्यालयमा कानुनी सचेतना पुर्याउँदै सम्पन्न भएको छ ।
तराई मधेश कानून विद्यार्थी समाजको आयोजनामा तथा मनकामना कलेजको सहकार्यमा आयोजित ‘मनकामना नमुना संसदीय अभ्यास–२०८३’ सँगै अभियानको औपचारिक समापन गरिएको हो । नमुना संसदीय अभ्यासले विद्यार्थीलाई संसद् सञ्चालन प्रक्रिया, लोकतान्त्रिक पद्धति र नेतृत्व विकासका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता प्रभात लहेराले गरेका थिए भने संविधान सभा सदस्य रामचन्द्र प्यासी कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा मनकामना कलेजका डाइरेक्टर रामबाबु कुशवाहासहित शिवनाथ पटेल, जयप्रकाश साह, रामविद्या कुशवाहा र आनन्द शर्मालगायतको उपस्थिति थियो ।
त्यसैगरी तराई मधेश कानून विद्यार्थी समाजका संस्थापक अध्यक्ष आकाश महतो, कानुनी अभियान ४.० का संयोजक सिवजी कुशवाहा, पर्सा जिल्ला संयोजक रवि मिश्र, बारा जिल्ला संयोजक राज गुप्तालगायत कानूनका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा अभियानका संयोजक सिवजी कुशवाहाले मनकामना कलेजका डाइरेक्टर रामबाबु कुशवाहाले कार्यक्रम सफल बनाउन पुर्याएको सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे ।
अभियानअन्तर्गत विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई संविधान, मौलिक हक, नागरिक कर्तव्य, निर्वाचन प्रणाली, संसदीय अभ्यास तथा कानुनी अधिकारका विषयमा प्रशिक्षण र सचेतना प्रदान गरिएको संयोजक कुशवाहाले जानकारी दिए ।
उनका अनुसार ८० भन्दा बढी विद्यालयसम्म कानुनी शिक्षा तथा सचेतना विस्तार गर्नु अभियानको महत्त्वपूर्ण उपलब्धि हो । विद्यार्थीलाई आफ्नो अधिकार र कर्तव्यप्रति जानकार बनाउँदै कानुनको सम्मान गर्ने, लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने अभियानको मुख्य लक्ष्य रहेको उनले बताए ।
विद्यालयस्तरबाटै कानुनी चेतना र संसदीय अभ्यासको संस्कार विकास गर्ने प्रयासले भविष्यमा सचेत, जिम्मेवार र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नागरिक निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




























प्रतिक्रिया दिनुहोस् !