Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वर्षौँदेखि बाढीको मार, परोहावासीलाई राहत दिन जैविक तटबन्धः स्थायी समाधान अझै अनिश्चित !

लालबकैया नदीको बाढीले वर्षौँदेखि त्रसित बनाएको परोहाका बासिन्दाले यस वर्ष केही राहत पाएपनि आगामी वर्षमा पनि यही अवस्था कायम रहन्छ भन्ने सुनिश्चितता छैन । जैविक तटबन्धको नियमित अनुगमन, आवश्यक मर्मतसम्भार, नदीको व्यवस्थित व्यवस्थापन र पूर्वसूचना प्रणालीको निरन्तरताले मात्रै प्राप्त उपलब्धिलाई दिगो बनाउन सक्छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १२, २०८३
वर्षौँदेखि बाढीको मार, परोहावासीलाई राहत दिन जैविक तटबन्धः स्थायी समाधान अझै अनिश्चित !

परोह (रौतहट), १२ कात्तिक । वर्षौँदेखि लालबकैया नदीको बाढी र डुबानको मार खेप्दै आएका रौतहटको परोहा नगरपालिका–३, तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन् । विगतमा नदीमा पानीको सतह बढ्नासाथ बस्ती डुबानमा पर्ने र खेतबारीमा लगाइएको बालीनाली नष्ट हुने समस्या झेल्दै आएका स्थानीयले यसपालि जैविक तटबन्ध निर्माण, वृक्षरोपण र प्रभावकारी पूर्वसूचना प्रणालीका कारण क्षति कम भएको बताएका छन् ।

बाढीको जोखिम पूर्ण रूपमा नहटिसके पनि स्थानीयस्तरमा उपलब्ध सामग्रीको प्रयोग गरी निर्माण गरिएको जैविक तटबन्ध र विपद् आउनुअघि नै अपनाइएको सतर्कताले बस्ती तथा कृषि क्षेत्रमा राहत पुर्‍याएको छ । जलवायु उत्थानशील समुदाय कार्यक्रमअन्तर्गत गरिएका यी प्रयासले सीमित स्रोतसाधनबाट समेत विपद् जोखिम न्यूनीकरण गर्न सकिने सम्भावना देखाएका छन् ।

लालबकैया नदीको बाढीले वर्षौँदेखि प्रभावित हुँदै आएको तेजापाकड घरारीमा बाँसको टाँटी, जियो ब्याग र माटो समातेर राख्न सहयोग गर्ने भेटिभर घाँस प्रयोग गरी करिब ६० मिटर लामो नमुना जैविक तटबन्ध बनाइएको छ । वातावरणमैत्री सामग्रीबाट निर्माण गरिएको यस संरचनाको उद्देश्य नदीको कटान र तीव्र बहावबाट बस्ती तथा खेतीयोग्य जमिनमा हुने क्षति न्यूनीकरण गर्नु हो ।

७५ वर्षीय स्थानीय अकलु पासवानका अनुसार करिब दुईदेखि साढे दुई दशकदेखि उनको टोलले बाढीको भयावह अवस्था सामना गर्दै आएको छ । बाढीले गाउँलाई चारैतिरबाट घेर्दा वृद्धवृद्धा, बालबालिका र महिलालाई सुरक्षित स्थानमा पुर्‍याउनसमेत कठिन हुने गरेको उनले बताए ।

‘यसपालि जैविक बाँध बनेपछि बाढी त आयो, तर पहिलेको जस्तो गाउँमा पस्न पाएन,’ पासवानले भने, ‘नगरपालिकाले बाढी वा आगलागी हुनुअघि नै सूचना दिँदा सतर्क रहन र धनमाल जोगाउन सहज भएको छ ।’ परोहा–४, लौकाहाका स्थानीय नियाज आलमले पनि तटबन्ध निर्माणले किसानलाई राहत दिएको बताए । गत वर्ष बाढीले खेतमा लगाएको बालीनाली नष्ट गरेको स्मरण गर्दै उनले यस वर्ष बाढी आए पनि खेतमा पानी नपसेका कारण धानबाली सुरक्षित रहेको जानकारी दिए ।

सानो संरचनाले राहत, तर बाढीको स्थायी समाधान अझै टाढा
जैविक तटबन्धबाट सकारात्मक परिणाम देखिए पनि स्थानीयले यसलाई लालबकैया नदीको बाढी समस्याको स्थायी समाधान मानेका छैनन् । नदीको अनियन्त्रित बहाव, कटान र डुबानको जोखिम न्यूनीकरण गर्न व्यवस्थित नदी व्यवस्थापन, आवश्यक स्थानमा दीर्घकालीन तटबन्ध निर्माण र नियमित मर्मतसम्भार अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

नदी नियन्त्रण कार्यालयको सहयोग र जलवायु उत्थानशील समुदाय कार्यक्रमको सहकार्यमा निर्माण गरिएको जैविक तटबन्धलाई वातावरणमैत्री प्रविधिको नमुनाका रूपमा हेरिएको छ । कार्यक्रमका संयोजक डोरेन्द्र बस्नेतले स्थानीयस्तरमै उपलब्ध सामग्री र वनस्पतिको प्रयोगबाट तयार पारिएका यस्ता संरचना मधेश प्रदेशका अन्य बाढी प्रभावित क्षेत्रमा पनि विस्तार गर्नुपर्ने बताए ।

उनका अनुसार लालबकैया जस्ता सीमावर्ती नदीको समस्या समाधान गर्न स्थानीय प्रयास मात्र पर्याप्त हुँदैन । नदी व्यवस्थापनलाई दीर्घकालीन र प्रभावकारी बनाउन संघीय सरकारले भारत सरकारसँग समेत आवश्यक कूटनीतिक छलफल र समन्वय अघि बढाउनुपर्ने आवश्यकता छ । स्थानीयस्तरमा बनाइएको संरचनाले तत्कालको जोखिम घटाउन सहयोग गरे पनि नदीको बहाव व्यवस्थापन र ठूला संरचना निर्माणका लागि पर्याप्त बजेट, प्राविधिक सहयोग तथा तीनै तहका सरकारबीच समन्वय आवश्यक देखिएको छ ।

पूर्वसूचनाले बढायो विपद् सामना गर्ने क्षमता
परोहा नगरपालिकाले विगतका विपद्बाट सिक्दै पूर्वतयारी र सूचना प्रवाहलाई प्राथमिकता दिएको छ । नगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन र योजना शाखाका प्रमुख अब्दुल रव अन्सारीका अनुसार समयमै चेतावनी प्राप्त हुँदा मानिस र चौपायालाई सुरक्षित स्थानमा सार्न सहज भएको छ ।

उनले २०७४ सालको भीषण बाढीमा गर्भवती महिलासहित एम्बुलेन्स बग्दा एउटै परिवारका पाँच जनाले ज्यान गुमाएको दुःखद घटना स्मरण गरे । यस्ता घटना पुनः नदोहोरिऊन् भन्ने उद्देश्यले विपद् व्यवस्थापन केन्द्र स्थापना गरी पूर्वसूचना र प्रतिकार्यका काम अघि बढाइएको उनले बताए । अन्सारीका अनुसार बाढी आउनुअघि नै जोखिममा रहेका बस्तीलाई जानकारी गराउँदा उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनमा सहयोग पुगेको छ । यसबाट मानवीय तथा भौतिक क्षति कम गर्न र विपद्पछिको खर्च घटाउनसमेत मद्दत मिलेको उनको भनाइ छ ।

नगरपालिकाले बाढीबाट प्रभावित हुन सक्ने करिब तीन हजार ५०० घरधुरीको विवरण व्यवस्थित बनाएको छ । यसले प्रभावित परिवारको पहिचान, आवश्यकताअनुसार राहत वितरण र विपद्सम्बन्धी तथ्यांकमा एकरूपता कायम गर्न सहज भएको अन्सारीले बताए । नगरपालिकाले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन र विपद् पूर्वतयारीका लागि करिब ३० देखि ३५ लाख रुपैयाँ बजेट छुट्याएको जनाएको छ । उक्त रकमबाट जोखिम न्यूनीकरण, समुदायको क्षमता विकास र जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम सञ्चालन गरिएका छन् ।

वृक्षरोपणदेखि समुदायको तयारीसम्म
परोहा नगरपालिकाले बाढीको जोखिम न्यूनीकरणसँगै जलवायु परिवर्तनका अन्य प्रभाव सामना गर्न वृक्षरोपण अभियानलाई पनि अघि बढाएको छ । ‘एक घर, एक रुख’ कार्यक्रमअन्तर्गत घरधुरीलाई बिरुवा वितरण गर्नुका साथै सडकका दुवैतर्फ रोपिएका बिरुवाको संरक्षणमा जोड दिइएको छ ।

वृक्षरोपणको संरक्षणका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको अन्सारीले जानकारी दिए । स्थानीय सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष रामप्रवेश यादवले परियोजनाबाट प्राप्त प्राविधिक तथा आर्थिक सहयोग र विपद् प्रतिकार्य सामग्रीले समुदायलाई विपद् सामना गर्न सक्षम बनाएको बताए ।

सामाजिक परिचालक राकेश कुमार पण्डितका अनुसार गत वर्ष र यस वर्ष जलवायु उत्थानशील समुदाय कार्यक्रमको सहकार्यमा नदी नियन्त्रण कार्यालयबाट सात लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । उक्त सहयोग तथा कार्यक्रमको थप स्रोत परिचालन गरी तटबन्ध निर्माण र संरक्षणसम्बन्धी काम अघि बढाइएको उनले बताए । जैविक तटबन्धको संरक्षणका लागि थप १० लाख रुपैयाँ छुट्याइएको पनि उनले जानकारी दिए ।

उनका अनुसार तटबन्धबाट परोहाका बाढी प्रभावित क्षेत्रसँगै छिमेकी राजपुर र ईशनाथ नगरपालिकाका केही बस्तीलाई समेत राहत पुगेको छ । संरचनाको प्रभावकारिताबारे बुझ्न छिमेकी स्थानीय तहका जनप्रतिनिधिले अवलोकन गर्ने र आफ्ना क्षेत्रमा पनि यस्तै प्रविधि अपनाउन चासो देखाउने गरेका छन् ।

जलवायु उत्थानशीलता कार्यक्रमका मधेश प्रदेश संयोजक सञ्जित श्रेष्ठ र जलवायु तथा विपद् जोखिम सञ्चारविज्ञ प्रल्हाद गैरापिप्लीले स्थानीय सरकार र समुदायलाई पूर्वसूचना प्रणालीसँग जोड्ने तथा आधिकारिक सूचना स्रोतबारे सचेत गराउने काममा जोड दिएका छन् । उनीहरूका अनुसार विपद्का बेला अपुष्ट सूचनाले अन्योल सिर्जना गर्न सक्ने भएकाले भरपर्दो स्रोतबाट प्राप्त जानकारी समयमै समुदायसम्म पुर्‍याउनु आवश्यक छ ।

बाढी मात्रै होइन, खडेरी र लूको जोखिम पनि उस्तै
लालबकैया नदीको बाढीबाट राहत महसुस गरे पनि परोहावासीका समस्या वर्षायाममा मात्र सीमित छैनन् । स्थानीयका अनुसार हिउँद र खडेरीको समयमा चापाकल सुक्ने, सिँचाइका लागि पानी अभाव हुने र १० देखि १५ दिनसम्म वर्षा नहुँदा कृषि उत्पादन प्रभावित हुने समस्या दोहोरिने गरेको छ ।

गर्मीमा चल्ने तातो हावा अर्थात् लूका कारण किसान, खेतमा काम गर्ने मजदुर, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समेत जोखिम बढ्ने गरेको छ । यसले जलवायु परिवर्तनसँग जुध्न बाढी नियन्त्रणका साथै खानेपानी, सिँचाइ, स्वास्थ्य सुरक्षा र कृषि अनुकूलनका कार्यक्रम पनि आवश्यक रहेको देखाउँछ ।

बाढीका बेला महिलाले थप कठिनाइ भोग्नुपर्ने स्थानीय सरस्वती देवीले बताइन्। घरभित्र पानी पसेपछि खाना पकाउन, खानेपानी जुटाउन, बालबालिका तथा ज्येष्ठ नागरिकको हेरचाह गर्न र सरसफाइ कायम राख्न समस्या हुने गरेको उनले सुनाइन् ।

बाढीका कारण चुलो बाल्न नसक्दा पाँचदेखि छ दिनसम्म खानासमेत नपाउने अवस्था आएको स्मरण गर्दै उनले विपद् व्यवस्थापनका योजनामा महिला, गर्भवती तथा सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताइन् ।

विपद् व्यवस्थापन प्रभावकारी बनाउन पूर्वसूचना जारी गर्नु मात्र पर्याप्त नहुने उनको भनाइ छ । जोखिममा रहेका परिवारका लागि सुरक्षित आश्रय, खाद्यान्न, स्वच्छ खानेपानी र आधारभूत सरसफाइको व्यवस्था पनि सुनिश्चित हुनुपर्छ ।

पाँच वडा जोखिममा, सरकारको थप सहयोग आवश्यक
स्थानीयवासीका अनुसार विगतका बाढीका कारण परोहा नगरपालिका क्षेत्रमा करिब ६०० बिघा जमिनमा लगाइएको बालीनाली पूर्ण रूपमा नष्ट भएको थियो । नगरपालिकाका अनुसार नौ वडामध्ये पाँच वडाका करिब तीन हजार घरधुरी बाढीको जोखिममा छन् । यसले जैविक तटबन्ध र पूर्वसूचना प्रणालीबाट प्राप्त राहतलाई दीर्घकालीन सुरक्षामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँछ ।

नगरप्रमुख शेख वकिल, उपप्रमुख सुगन्धि गिरी र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको नेतृत्वमा स्थानीय सरकारले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ । तर स्थानीय तहको सीमित बजेट र स्रोतसाधनबाट मात्रै नदी नियन्त्रण तथा दीर्घकालीन संरचना निर्माण सम्भव नहुने भएकाले संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको नगरपालिकाको भनाइ छ ।

लालबकैया नदीको बाढीले वर्षौँदेखि त्रसित बनाएको परोहाका बासिन्दाले यस वर्ष केही राहत पाएपनि आगामी वर्षमा पनि यही अवस्था कायम रहन्छ भन्ने सुनिश्चितता छैन । जैविक तटबन्धको नियमित अनुगमन, आवश्यक मर्मतसम्भार, नदीको व्यवस्थित व्यवस्थापन र पूर्वसूचना प्रणालीको निरन्तरताले मात्रै प्राप्त उपलब्धिलाई दिगो बनाउन सक्छ ।

परोहाको अनुभवले स्थानीय सहभागिता, वातावरणमैत्री संरचना र समयमै सूचना प्रवाहले विपद्को क्षति घटाउन सकिने देखाएको छ । तर वर्षौँदेखिको बाढी समस्यालाई स्थायी रूपमा समाधान गर्न नमुना परियोजनाको सफलतामा मात्र निर्भर नभई जोखिमयुक्त क्षेत्रको पहिचान, पर्याप्त बजेट, वैज्ञानिक नदी व्यवस्थापन र तीनै तहका सरकारको ठोस प्रतिबद्धता आवश्यक छ ।

Tags: लालबकैया बाढीको जोखिम कायमै: वर्षौँको बाढीपीडामा मलम
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

खेखरीबाट भन्सार छलीको सामान बरामद, मोटरसाइकलसहित ६ लाख ४६ हजारको सामग्री नियन्त्रणमा

खेखरीबाट भन्सार छलीको सामान बरामद, मोटरसाइकलसहित ६ लाख ४६ हजारको सामग्री नियन्त्रणमा

कार्तिक १२, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेका १० वटा गाईगोरु बरामद

नेपालबाट भारततर्फ लैजाँदै गरेका १० वटा गाईगोरु बरामद

कार्तिक १२, २०८३
वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

सडक कब्जा गरेर थोक व्यापार गर्न नपाइने, व्यवसायीलाई २१ दिनको अल्टिमेटम

कार्तिक १२, २०८३
दुई दशकदेखि बन्द वीरगंज चिनी कारखानाः सरकारी अध्ययनले खुल्छ पुनः संचालनको ढोका ?

दुई दशकदेखि बन्द वीरगंज चिनी कारखानाः सरकारी अध्ययनले खुल्छ पुनः संचालनको ढोका ?

कार्तिक १२, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि