वीरगंज (पर्सा), १२ कात्तिक । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन कडा कदम चालेको छ । महानगरपालिकाले अव्यवस्थित रूपमा थोक कारोबार गर्दै आएका व्यवसायीलाई वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा स्थानान्तरण हुन २१ दिनको अल्टिमेटम दिएको छ ।
महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर थोक व्यापार गरिरहेका व्यवसायीलाई तोकिएको बजारमा अनिवार्य रूपमा सर्न निर्देशन दिएको हो । सूचनाअनुसार आगामी कात्तिक २ गतेभित्र सबै थोक व्यवसाय छपकैयास्थित बजारमा स्थानान्तरण गरिसक्नुपर्नेछ ।
सडक र सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका थोक बजारका कारण यातायात आवागमन, बजार व्यवस्थापन र उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न हुँदै आएको छ । यस्ता समस्यालाई नियन्त्रण गर्दै थोक कारोबारलाई व्यवस्थित बनाउन महानगरपालिकाले एउटै निर्धारित स्थानबाट व्यापार सञ्चालन गर्ने व्यवस्था कार्यान्वयन गर्न लागेको जनाएको छ ।
तोकिएको स्थानबाहेक अन्यत्र थोक बजार सञ्चालनमा रोक
प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा छपकैयास्थित व्यवस्थित थोक बजारमा कारोबार सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइसकिएको उल्लेख छ । महानगरपालिकाले तोकिएको स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सञ्चालन गर्न वा बजार लगाउन रोक लगाएको जनाएको छ ।
निर्धारित समयसीमाभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले स्पष्ट पारेको छ । समयमै स्थानान्तरण नगर्दा उत्पन्न हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा उल्लेख छ ।
सडक र सार्वजनिक स्थान व्यवस्थित बनाउने लक्ष्य
वीरगंजलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
तरकारी तथा फलफूलको थोक कारोबार निश्चित स्थानमा केन्द्रित हुँदा सडकमा हुने अव्यवस्थित व्यापार नियन्त्रण गर्न, यातायात सञ्चालन सहज बनाउन र उपभोक्तालाई बजारसम्म पुग्न सजिलो हुने महानगरको अपेक्षा छ । महानगरपालिकाको निर्देशनपछि अब सम्बन्धित व्यवसायीले तोकिएको समयभित्र छपकैयास्थित बजारमा स्थानान्तरण गर्नुपर्नेछ । निर्देशन कार्यान्वयन नभए कानुनी कारबाहीको सामना गर्नुपर्ने भएकाले थोक व्यवसायीका लागि महानगरको यो निर्णय निर्णायक बनेको छ ।
सार्वजनिक सडक र स्थानलाई थोक व्यापारको थलो बनाउने प्रवृत्ति रोक्न महानगरपालिकाले दिएको समयसीमा अब कार्यान्वयनको परीक्षामा छ । निर्धारित समयभित्र बजार स्थानान्तरण गराउन सके मात्रै वीरगंजको बजार व्यवस्थापन र यातायात सुधार गर्ने महानगरको अभियानले ठोस परिणाम दिन सक्नेछ ।


























प्रतिक्रिया दिनुहोस् !