वीरगंज (पर्सा), १७ असोज । प्री–प्राइमरी तहका बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वासलाई मञ्च प्रदान गर्ने उद्देश्यले वीरगंजमा पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा हुने प्रतियोगिता आगामी असोज १८ गते आइतबार बिहान १० बजेदेखि वीरगन्जस्थित आर्मी ब्यारेकको उत्तरपट्टि रहेको क्लासिक ब्याङ्क्वेटमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्याब्सन पर्सामा आबद्ध २० वटा विद्यालयका प्री–प्राइमरी तहका विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयबाट न्यूनतम ८ देखि अधिकतम १२ जना विद्यार्थीले विभिन्न राइम्स प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार प्रत्येक विद्यालयलाई आफ्नो प्रस्तुति प्रस्तुत गर्न बढीमा चार मिनेटको समय उपलब्ध गराइनेछ । सबै विद्यालयको प्रस्तुति सकिएपछि निर्णायकहरूको मूल्यांकनका आधारमा उत्कृष्ट पाँच विद्यालय छनोट गरिनेछ ।
छनोट भएका विद्यालयमध्ये प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । चौथो र पाँचौँ स्थानमा रहने विद्यालयका विद्यार्थीलाई सान्त्वना पुरस्कारस्वरूप प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने सबै बालबालिकालाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।
सानै उमेरमा बालबालिकाभित्र रहेको प्रतिभा पहिचान गरी त्यसलाई सार्वजनिक प्रस्तुतिको अवसर दिने तथा उनीहरूको आत्मविश्वास र सिर्जनात्मक क्षमता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्याब्सन पर्साले जनाएको छ । प्रतियोगिताको आवश्यक तयारीसमेत पूरा भइसकेको आयोजकको भनाइ छ ।
प्रतियोगिताको संयोजन प्याब्सन नगर कार्यसमिति सदस्य विजय कुमार बलले गरिरहेका छन् । प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा पहिचानसँगै उनीहरूको प्रस्तुति क्षमता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार प्रारम्भिक तहको सिकाइलाई मनोरञ्जन र सिर्जनात्मक गतिविधिसँग जोड्दा बालबालिकाको सिकाइप्रतिको रुचि बढ्नुका साथै उनीहरूमा सार्वजनिक रूपमा आफ्ना क्षमता प्रस्तुत गर्ने आत्मविश्वाससमेत विकास गर्न सकिन्छ ।
विद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउँदै बालबालिकाको प्रतिभा विकासका लागि यस्ता गतिविधिलाई निरन्तरता दिने अपेक्षा आयोजकले गरेको छ ।












प्रतिक्रिया दिनुहोस् !