परवानीपुर (बारा), १७ असोज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एल.एस. हस्पिटल एण्ड मेडिकल कलेजको परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा रगतको अभाव हुन नदिन तथा स्थानीयस्तरमै रगत संकलन गरी मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले अस्पतालले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १३ महिलासहित ४८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पछिल्लो समय वीरगंजस्थित ब्लड बैंकमा रगतको अभाव देखिँदा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तले आवश्यक रगत जुटाउन कठिनाई भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ । संकलित रगतले आकस्मिक अवस्था, शल्यक्रिया तथा अन्य उपचारका क्रममा आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रक्तदान कार्यक्रममा सहभागी अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले नियमित रक्तदानले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनीहरूले स्वस्थ व्यक्तिले समय–समयमा रक्तदान गर्नु सामाजिक जिम्मेवारी मात्र नभई मानवीय सेवाको महत्वपूर्ण माध्यमसमेत भएको उल्लेख गरे । अस्पताल परिसरमा आयोजित कार्यक्रममा रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाउँदै ‘रक्तदान जीवनदान’ भन्ने भावनालाई व्यवहारमै उतारेका थिए । महिला रक्तदाताको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।
एल.एस. हस्पिटल एण्ड मेडिकल कलेजले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जनहितकारी तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अस्पतालले आगामी दिनमा पनि रक्तदान, निःशुल्क स्वास्थ्य शिविर तथा समुदायकेन्द्रित अन्य कार्यक्रमलाई निरन्तरता दिने होस्पिटलका मेडिकल डाईरेक्टर डाक्टर अर्जुन पटेलले प्रतिबद्धता व्यक्त गरेका थिए ।
अस्पतालका अनुसार यस्ता कार्यक्रमले स्वास्थ्य संस्थालाई समुदायसँग अझ नजिक जोड्नुका साथै संकटका बेला आवश्यक पर्ने रगत व्यवस्थापनमा समेत सहयोग पुर्याउनेछ । अस्पतालले आगामी दिनमा स्थानीय समुदाय, स्वास्थ्यकर्मी, कर्मचारी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूसँगको सहकार्यमा मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी र व्यापक बनाउँदै लैजाने डाक्टर पटेलले जनाए । रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति डाक्टर पटेलले धन्यवाद व्यक्त गरेका थिए । 












प्रतिक्रिया दिनुहोस् !