कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई मानव सभ्यताको सबैभन्दा महत्वपूर्ण प्राविधिक उपलब्धिमध्ये एक मानिएको छ । शिक्षा, स्वास्थ्य, उद्योग, अनुसन्धान, सञ्चारदेखि दैनिक जीवनसम्म यसको प्रयोगले कामलाई छिटो, सहज र प्रभावकारी बनाइरहेको छ । तर प्रविधिको यही शक्ति गलत हातमा पुग्दा त्यसले मानव जीवन र समाजका लागि कति ठूलो खतरा निम्त्याउन सक्छ भन्ने गम्भीर संकेत पछिल्लो घटनाक्रमले दिएको छ । एआई अब केवल प्रश्नको उत्तर दिने, सामग्री लेख्ने वा सूचना खोज्ने माध्यममा सीमित छैन, यो अपराधीका लागि योजना बनाउने, कमजोरी पहिचान गर्ने र जटिल कामलाई तीव्र गतिमा अघि बढाउने ‘एजेन्ट’ बन्दै गएको छ । सेप्टेम्बर २०२६ को मानव केन्द्रित प्रतिवेदनले आफ्नो एआई सेवा क्लोडको दुरुपयोग गरी साइबर आक्रमण, सूचना हेरफेर, जासुसी, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकासजस्ता गतिविधि भएको उल्लेख गरेको छ । प्रतिवेदनमा देखाइएको सबैभन्दा चिन्ताजनक पक्ष के हो भने एआईले साइबर अपराधका लागि आवश्यक सीप, जनशक्ति, समय र लागतको बाधा घटाइदिएको छ । पहिले विशेषज्ञहरूको ठूलो टोली, लामो समय र पर्याप्त प्राविधिक ज्ञान आवश्यक पर्ने काम अब एआईको सहयोगमा धेरै छिटो र ठूलो परिमाणमा गर्न सकिने अवस्था देखिएको छ ।
साइबर अपराधको क्षेत्रमा यसको सम्भावित प्रभाव झन् गम्भीर छ । लक्ष्य पहिचानदेखि प्रणालीको कमजोरी खोज्ने, फिसिङका सामग्री तयार गर्ने, मालवेयर विकास गर्ने, चोरी भएका प्रमाण तथा विवरण व्यवस्थापन गर्ने र संवेदनशील सूचना बाहिर निकाल्नेसम्म एआई प्रयोग हुन थालेको प्रतिवेदनले देखाउँछ । केही आक्रमणमा एआई एजेन्टले सुरक्षा प्रणालीबाट पत्ता लागेपछि मालवेयरमा आवश्यक परिवर्तनसमेत गर्न सक्ने क्षमता प्रयोग गरेको उल्लेख छ । यसको अर्थ अपराधीको हातमा एआई पुगेपछि एउटा आक्रमण असफल भए अर्को उपाय तत्काल परीक्षण गर्न सकिने जोखिम बढेको छ । खतरा साइबर अपराधमा मात्र सीमित छैन । लोकतन्त्रको आधार मानिने सूचना र जनमतसमेत एआईको दुरुपयोगबाट प्रभावित हुन सक्छ । नक्कली सामाजिक सञ्जाल खाता, फर्जी समाचार वेबसाइट, राजनीतिक प्रचार सामग्री, नक्कली दस्तावेज र लक्षित भ्रमपूर्ण सामग्री ठूलो मात्रामा उत्पादन गर्न एआई प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ । एउटा अभियानमा दर्जनौँ फर्जी समाचार साइट, सयौँ सामाजिक सञ्जाल खाता र हजारौँ सामग्री उत्पादन गरिएको उदाहरणले सूचना युद्ध अब परम्परागत प्रचारभन्दा निकै अगाडि पुगिसकेको देखाउँछ ।
यसको सबैभन्दा खतरनाक परिणाम निर्वाचन र लोकतान्त्रिक प्रक्रियामा पर्न सक्छ । मतदाताको रुचि, सामाजिक अवस्था, समुदायगत संवेदनशीलता र राजनीतिक व्यवहारसम्बन्धी तथ्यांक विश्लेषण गरी विशेष समूहलाई लक्षित प्रचार गर्न सकिने अवस्था बनेको छ । बंगलादेशसम्बन्धी उल्लेखित अभियानमा एआई प्रयोग गरेर ठूलो संख्यामा नक्कली शीर्षक, समाचार र तस्वीरका लागि निर्देशन तयार गरिएको थियो । यस्ता गतिविधिले वास्तविक सूचना र झुटो सूचनाबीचको सीमा नै धुमिल पार्न सक्छ । त्यसैगरी एआईमार्फत राजनीतिक कार्यकर्ता, पत्रकार, अल्पसंख्यक तथा असहमत व्यक्तिहरूको निगरानी र व्यक्तिगत ‘डोजियर’ तयार गर्ने प्रवृत्ति पनि चिन्ताजनक छ । व्यक्तिको स्थान, राजनीतिक विचार, सामाजिक सम्बन्ध र कमजोरीसम्बन्धी अनुमान निकालेर लक्षित निगरानी गर्न सकिने अवस्था नागरिकको गोपनीयता र मौलिक अधिकारमाथिको गम्भीर चुनौती हो । अझ विडम्बनापूर्ण पक्ष के छ भने एआई सेवा प्रदायक स्वयं पनि अपराधीको निशानामा पर्न थालेका छन् । चोरी भएका ए.पि.आई. कि, सिजन टोकन, लगइन विवरण प्रयोग गरी आक्रमण सञ्चालन गर्ने तथा सस्तो एआई सेवा दिने बहानामा प्रयोगकर्ताको संवेदनशील विवरण चोर्ने नक्कली वेबसाइटसमेत प्रयोग भएको प्रतिवेदनले देखाएको छ । तर एउटा तथ्य स्पष्ट बुझ्न आवश्यक छ एआई आफैं अपराधी होइन । अपराधको उद्देश्य निर्धारण गर्ने, लक्ष्य छनोट गर्ने र चोरी भएको सूचनाको प्रयोग गर्ने अन्तिम निर्णय अझै मानिसले नै गर्छ । त्यसैले जिम्मेवारी प्रविधिमाथि थोपरेर उम्किन मिल्दैन ।
अब एआईलाई रोक्ने होइन, यसको दुरुपयोग रोक्ने हो । सरकार, प्रविधि कम्पनी, सुरक्षा निकाय, सञ्चारमाध्यम र नागरिक सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । एआईको विकाससँगै साइबर सुरक्षा, डेटा संरक्षण, डिजिटल साक्षरता र गलत सूचना नियन्त्रणसम्बन्धी नीति पनि समान गतिमा अघि बढ्नुपर्छ । प्रविधिको विकास रोक्न सकिँदैन र रोक्नु पनि हुँदैन । तर विकासको नाममा अपराधीलाई अझ शक्तिशाली बनाउने छुट पनि दिन सकिँदैन । एआई मानवताको सेवक बन्ने कि अपराधको नयाँ हतियार बन्ने भन्ने निर्णय अन्ततः प्रविधिले होइन, मानिसले गर्नेछ । त्यसैले आजको आवश्यकता एआईबाट डराउने होइन, यसको शक्ति जिम्मेवार र सुरक्षित ढंगले प्रयोग गर्ने कठोर व्यवस्था निर्माण गर्नु हो ।







प्रतिक्रिया दिनुहोस् !