भाद्र २३ र २४ को राजनीतिक उथलपुथलपछि देशको राजनीतिबाट एकाएक टाढिएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती केवल एउटा नेताको घरवापसीको घटना होइन । कांग्रेसको भविष्य, आन्तरिक लोकतन्त्र र देउवाको आफ्नै राजनीतिक उत्तराधिकारसँग जोडिएको एउटा निर्णायक क्षण हो । विशेषतः कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतको ढोकासम्म पुगेको, असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजना गरेको र देउवाको फिर्ती एकै समय आसपास हुनुले स्वाभाविक रूपमा अनेक राजनीतिक प्रश्न जन्माएको छ । देउवा नेपालको राजनीतिको सामान्य पात्र होइनन् । लोकतन्त्रका लागि लामो संघर्ष गरेका, पटकपटक प्रधानमन्त्री बनेका र नेपाली कांग्रेसलाई लामो समय नेतृत्व गरेका व्यक्ति भएकाले उनको प्रत्येक राजनीतिक निर्णयको प्रभाव पार्टीको सीमाभन्दा बाहिर राष्ट्रिय राजनीतिसम्म पुग्छ । त्यसैले उनको स्वदेश फिर्तीलाई केवल व्यक्तिगत स्वास्थ्यलाभपछि भएको यात्रा समाप्तिका रूपमा बुझ्नु पर्याप्त हुँदैन । प्रश्न मुख्यत एउटै हो ‘देउवा अब कांग्रेसलाई जोड्न फर्किएका हुन् कि पुनः पुरानै गुटगत घेराबन्दीको केन्द्र बन्न ?’ यही प्रश्नको उत्तरले उनको राजनीतिक जीवनको अन्तिम अध्याय निर्धारण गर्नेछ ।
देउवाको राजनीतिक यात्रामा उपलब्धिहरू धेरै छन्, कमजोरीहरू पनि कम छैनन् । तर अहिलेको सबैभन्दा ठूलो चुनौती विगतका गल्तीहरूको हिसाबकिताब मात्र होइन, भविष्यप्रति उनको दृष्टिकोण के हुन्छ भन्ने हो । विशेष महाधिवेशन, त्यसको बहिष्कार र त्यसपछिको आधिकारिकता विवादले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई गम्भीर परीक्षामा उभ्याएको छ । बहुमत र अल्पमतको लोकतान्त्रिक विधिलाई स्वीकार नगर्ने प्रवृत्तिले पार्टीलाई झन् गहिरो अविश्वासतर्फ धकेल्न सक्छ । विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्वले असन्तुष्ट पक्षलाई पूर्ण रूपमा निषेध गर्ने बाटो नलिई निर्वाचनमा सहभागी गराउने, केन्द्रीय कार्यसमिति विस्तार तथा संसदीय गतिविधिमा समेट्ने प्रयास गरेको विवरणले पनि एउटा राजनीतिक सन्देश दिन्छ कांग्रेसभित्र प्रतिस्पर्धा हुन सक्छ, तर सहअस्तित्वको ढोका बन्द हुनुहुँदैन । यस्तो अवस्थामा देउवाले कुन बाटो रोज्छन् ? यही नै निर्णायक प्रश्न हो । देउवालाई फेरि कुनै एउटा समूहको राजनीतिक हतियार बनाउने प्रयास भयो भने त्यसले न देउवाको सम्मान बढाउँछ, न कांग्रेसको समस्या समाधान गर्छ । बरु उनको नाम र इतिहासलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने घेराले उनलाई पार्टीको अभिभावक होइन, एउटा गुटको संरक्षकमा सीमित पार्नेछ । लामो समयसम्म सत्ताको वरिपरि रहेर लाभ लिएका व्यक्तिहरूको स्वार्थ र सिङ्गो कांग्रेसको आवश्यकता एउटै हुँदैन ।
देउवाले यही अन्तर बुझ्नुपर्ने समय आएको छ । कांग्रेसको इतिहासले पनि यही पाठ सिकाउँछ । बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता शीर्ष नेताहरू पार्टीका विभिन्न निर्णयसँग असन्तुष्ट भए, फरक मत राखे, आफ्नै ढंगले संघर्ष गरे, तर नयाँ पुस्तामाथि अविश्वास गरेर पार्टीभित्र स्थायी विग्रहलाई संस्थागत गर्ने बाटो रोजेनन् । आज देउवाका अगाडि पनि इतिहासले त्यस्तै जिम्मेवारी राखेको छ । देउवाले चाहेको खण्डमा अझै पनि कांग्रेसभित्र संवादको वातावरण बनाउन सक्छन् । विशेष महाधिवेशनलाई स्वीकार वा अस्वीकार गर्ने कानुनी र राजनीतिक बहस आफ्नो ठाउँमा छन् । अदालतले गर्ने निर्णय पनि आफ्नो ठाउँमा छ । तर पार्टीको भविष्य केवल कानुनी फैसलाले निर्धारण गर्दैन । राजनीतिक परिपक्वता, सहमति र पुस्तान्तरणलाई स्वीकार गर्ने साहस उत्तिकै आवश्यक हुन्छ । आज देउवाका अगाडि दुई बाटा छन् । पहिलो, असन्तुष्ट समूहको दबाब र पुरानै शक्ति संरचनाको संरक्षण गर्दै कांग्रेसभित्रको संघर्षलाई अझ लम्ब्याउने । दोस्रो, आफ्नो व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर नयाँ पुस्तालाई ठाउँ दिने, सबै पक्षलाई संवादमा ल्याउने र आफूलाई सिङ्गो कांग्रेसको अभिभावकका रूपमा स्थापित गर्ने । दोस्रो बाटो कठिन छ, तर इतिहासमा सम्मानित हुने बाटो पनि त्यही हो ।
शेरबहादुर देउवाको लामो राजनीतिक जीवनको क्यानभासमा अन्तिम स्ट्रोक अब अरू कसैले होइन, स्वयं उनले लगाउनेछन् । उनी लोकतान्त्रिक विरासतलाई बलियो बनाउने अभिभावकका रूपमा सम्झिइन्छन् कि आफ्नै घेराको दबाबमा पार्टीभित्रको विभाजन गहिर्याउने नेताका रूपमा यसको जवाफ उनको आगामी राजनीतिक व्यवहारले दिनेछ । देउवाको स्वदेश फिर्ती साँच्चिकै कांग्रेसका लागि नयाँ संवाद, मेलमिलाप र राजनीतिक परिपक्वताको सुरुआत बन्नुपर्छ । यदि यो फिर्ती फेरि गुटगत सत्ता संघर्षको अर्को अध्याय मात्र बन्यो भने त्यो केवल कांग्रेसको दुर्भाग्य हुनेछैन, देउवाको सुदीर्घ राजनीतिक जीवनमाथि पनि एउटा अनावश्यक र दुःखद प्रश्नचिह्न हुनेछ । इतिहासले उनलाई फेरि एकपटक अवसर दिएको छ । अब देउवाले इतिहासको कसीमा आफूलाई कति ठूलो सावित गर्छन्, त्यसको उत्तर अब उनको आफ्नै हातमा छ ।







प्रतिक्रिया दिनुहोस् !