वीरगंज (पर्सा), १० जेठ । पर्सामा आयोजित जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । वीरगंजस्थित नारायणी रंगशाला मा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ठोरी गाउँपालिकाले सर्वाधिक पदकसहित उपाधि जितेको छ । पर्सा जिल्ला खेलकुद विकास समितिका अनुसार ठोरी गाउँपालिकाले १५ स्वर्ण, ९ रजत तथा ४ कास्य गरी कुल २८ पदक हात पार्दै प्रथम स्थान सुरक्षित गरेको हो ।
त्यस्तै पर्सागढी नगरपालिकाले ९ स्वर्ण, १० रजत र ८ कास्यसहित कुल २७ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । वीरगंज महानगरपालिकाले ४ स्वर्ण, ५ रजत र ९ कास्यसहित १८ पदक जितेर तेस्रो स्थानमा चित्त बुझाएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत कबड्डी पुरुषतर्फ वीरगंज महानगरपालिका विजेता बनेको छ भने महिला कबड्डीतर्फ पर्सागढी नगरपालिकाले पहिलो स्थान हात पारेको छ ।
त्यसैगरी पुरुष भलिबलतर्फ धोबिनी गाउँपालिका र महिला भलिबलतर्फ ठोरी गाउँपालिका च्याम्पियन बनेका छन् । प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानु ले ट्रफी तथा मेडल प्रदान गरेका थिए । प्रतियोगितामा वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, कालिकामाई गाउँपालिका तथा धोबिनी गाउँपालिकाबाट गरी ३७५ विद्यार्थी खेलाडी सहभागी भएका थिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दोलगायत विभिन्न विधाका खेल समावेश गरिएको थियो । प्रतियोगिताको उद्घाटन शनिबार शिवजी गुप्ता ले गरेका थिए । प्रतियोगिताले जिल्लास्तरमा खेल प्रतिभा पहिचान तथा विद्यार्थीहरूमा खेलप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ ।









प्रतिक्रिया दिनुहोस् !