परवानीपुर (बारा), २६ वैशाख । बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा ट्याक्टरबाट माटो खसाल्ने क्रममा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा ना.५ त ३०११ नम्बरको ट्याक्टर चालक वीरगञ्ज महानगरपालिका–२१ निवासी ५० वर्षीय काशी महतो तत्मा रहेका छन् ।
गत आइतबार राति स्थानीय रामबाबु रौनियारको खाली जग्गामा माटो खसाल्ने क्रममा माटोले पुरिएर प्लास्टिक संकलन गरी जीविकोपार्जन गर्दै आएका परवानीपुर गाउँपालिका–५ नौतन निवासी ३८ वर्षीय दुःखी महतो बिनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार गाउँपालिकाद्वारा परवानीपुर बजारमा निर्माणाधीन सेडको माटो मध्यरातमा ट्याक्टरमार्फत रौनियारको जग्गामा खसाल्ने काम भइरहेको थियो । रातिको समयमा माटो खसालिनु र घटनापछि घाइतेलाई तत्काल अस्पताल नलगिएको विषयलाई लिएर स्थानीयले घटनामाथि शंका व्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्याक्टरबाट माटो खसाल्ने क्रममा युवक पुरिएर मृत्यु भएको देखिएको छ । घटनास्थल आसपासका सिसिटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएपछि चालक तत्मालाई पक्राउ गरिएको उनले बताए । प्रहरीका अनुसार मृतक युवक माटोले च्यापिएपछि शवलाई घटनास्थलबाट केही पर सारिएको अवस्थामा फेला पारिएको थियो । यसले घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
श्रोतका अनुसार घटनामा संलग्न अन्य व्यक्तिलाई जोगाउन केही स्थानीय जनप्रतिनिधि तथा राजनीतिक नेताहरू सक्रिय रहेको बुझिएको छ । उनीहरूले पीडित पक्षलाई दबाब दिएर ट्याक्टर चालकविरुद्ध मात्र जाहेरी दिन लगाएको आरोपसमेत उठेको छ । घटनाबारे जग्गाधनी रामबाबु रौनियारसँग बुझ्दा आफूलाई घटनाको वास्तविक जानकारी नभएको बताएका छन् । मध्यरातमा आफ्नो जग्गामा माटो किन खसालिएको भन्ने प्रश्नमा उनले गाउँपालिकाले उक्त काम गराएको प्रतिक्रिया दिएका छन् । तर स्थानीयवासीले रातिको समयमा माटो खसालिनु र दुर्घटनापछि घाइतेलाई अस्पताल नपुर्याइनुमा रौनियारको भूमिकासमेत शंकास्पद रहेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस् !