मलगंवा (सर्लाही), १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा विरोधको सामना गर्नुपरेको छ । हिन्दु सम्राट सेनाका कार्यकर्ताले शनिबार साँझ सदरमुकाम मलंगवामा सिंहविरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला दहन गरेका छन् । प्रदर्शनका क्रममा कालो झण्डा देखाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा शनिबार सर्लाही आइपुगेका सांसद सिंहलाई मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कार्यकर्ताहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिकै सांसद सिंहको पुत्लासमेत जलाएका थिए ।
हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवका अनुसार कालो झण्डा प्रदर्शन गर्ने क्रममा प्रहरीले संगठनका चार जना कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सेनाका कार्यकर्ताले विरोध जनाएका छन् । प्रदर्शनकारीहरूले आफ्ना कार्यकर्तालाई पक्राउ गरेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारमाथि अंकुश लगाउन खोजिएको आरोप लगाएका छन् ।


























प्रतिक्रिया दिनुहोस् !