वीरगंज (पर्सा), २९ चैत । पर्साको वीरगंज महानगरपालिका वडा नं. ९ श्रीपुरस्थित एक घरमा पुगेका प्रहरी कर्मचारीमाथि भएको कुटपिट तथा रड प्रहारबाट मृत्यु भएको छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुड्ली निवासी २७ वर्षीय प्रहरी विकास चौरसियाको सोही घटनामा ज्यान गएको पुष्टि भएको छ ।
स्थानीयका अनुसार, रौतहट कटहरिया घर भई वीरगंज–९ भारतीय दूतावास पछाडि डेरा गरी बस्दै आएकी एक महिलाको कोठामा साँझ करिब ५ बजेतिर पुगेका प्रहरी कर्मचारी चौरसिया र ती महिलाका श्रीमान्बीच सुरु भएको विवादले चर्को रूप लिँदा घटना घटेको हो । विवाद उग्र बनेपछि श्रीमान् सहित ३/४ जनाको समूहले चौरसियामाथि निर्ममतापूर्वक कुटपिट गरेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार, समूहले प्रहरी चौरसियालाई कोठामै थुनेर निर्घात कुटपिट गर्नुका साथै टाउकोको पछाडि रडले प्रहार गरेका थिए, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो । ति महिलाका श्रीमान् वैदेशिक रोजगारीबाट केही दिनअघि मात्रै फर्किएका थिए । श्रीमान् सहित अन्य तीनचार जना युवक सँगै रहेको अवस्थामा प्रहरी चौरसिया ति महिलाको डेरामा पुगेका थिए । सोही बखत उनीमाथि आक्रमण भएको थियो ।
घटनापछि तत्काल पुगेको पर्सा प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीन जना पुरुष र एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार मृतक चौरसिया प्रहरी कर्मचारी रहेको पुष्टि भइसकेको छ भने घटनाबारे विस्तृत अनुसन्धान जारी छ ।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये डेरामा बस्दै आएकी महिला, उनका श्रीमान् तथा अन्य दुई जना युवक रहेका छन् । घटनास्थलमा मुचुल्का उठाउने क्रममा कुटपिटमा संलग्न अन्य केही युवकलाई घरधनीले भगाएको आरोप लागेपछि घरधनीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । मृतक चौरसियाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।









प्रतिक्रिया दिनुहोस् !