वीरगंज (पर्सा), २८ चैत । वैदिक परम्पराअनुसार मनाइने पवित्र श्री जगन्नाथ रथ यात्रा वीरगंजमा श्रद्धा, भक्ति र भव्यताका साथ सम्पन्न भएको छ । इस्कोन वीरगंजको आयोजनामा सम्पन्न उक्त धार्मिक यात्रामा हजारौँ भक्तजन तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । हिन्दू धर्मको महत्वपूर्ण तथा पवित्र पर्वका रूपमा मानिने जगन्नाथ रथ यात्रामा भगवान् जगन्नाथ, बलभद्र र सुभद्रा महारानीको रथयात्रा निकालिन्छ ।
धार्मिक विश्वासअनुसार यस दिन भगवान् स्वयं मन्दिरबाट बाहिर निस्केर भक्तजनलाई दर्शन दिने र आशीर्वाद प्रदान गर्ने मान्यता रहिआएको छ । आयोजकका अनुसार यो पर्वले समाजमा भक्ति, एकता र समानताको सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको छ । रथ यात्राका क्रममा भजन कीर्तन, आध्यात्मिक प्रवचन तथा सहभागीहरूका लागि निःशुल्क प्रसाद वितरण गरिएको थियो ।
रथ यात्रा वीरगंजस्थित गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी र गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन गरिएको थियो । उक्त धार्मिक शोभायात्रामा विद्यालय कलेजका विद्यार्थी, व्यापारी, विभिन्न संघसंस्था तथा स्थानीय सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो । साथै पर्सा, बारा र रौतहटसँगै छिमेकी भारतीय शहर रक्सौलबाट समेत हजारौँ श्रद्धालु सहभागी भएका थिए ।
कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित र भक्तिमय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । समापनपछि सहभागीहरूलाई निःशुल्क प्रसाद वितरण गरिएको थियो भने सांस्कृतिक झल्को दिने नृत्य नाट्य प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।
इस्कोन वीरगंजका प्रमुख मुक्तिनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख राजेशमान सिंह तथा वरिष्ठ समाजसेवी मुर्लीधर रुङटाको उपस्थिति रहेको थियो । साथै इस्कोनका आयुष गिरी, गौर्सभन दास, श्याम मनोहर साहलगायतको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस् !