वीरगंज (पर्सा), ७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक सञ्जालमा फैलाइँदै आएको उम्मेदवारीसम्बन्धी भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार पछिल्ला केही दिनयता केही व्यक्ति तथा समूहले आफूलाई वीरगञ्ज महानगरपालिका लगायत विभिन्न पालिकामा मेयर तथा वडाध्यक्ष पदका उम्मेदवार भएको दाबी गर्दै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेको पाइएको छ ।
पार्टीले यस्ता गतिविधि तत्काल बन्द गर्न तथा नगर्न–नगराउन चेतावनी दिँदै त्यस्ता गलत, भ्रामक र कपोलकल्पित सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विज्ञप्तिमा हालसम्म पार्टीले कुनै पनि तहको निर्वाचनका लागि कुनै व्यक्तिलाई उम्मेदवारका रूपमा आधिकारिक रूपमा चयन नगरेको स्पष्ट पारिएको छ ।
साथै यस्ता भ्रामक प्रचार गर्ने व्यक्ति तथा समूहबाट सचेत रहन पनि अनुरोध गरिएको छ । उक्त जानकारी रास्वपा पर्साका जिल्ला सचिव सुदिश प्रजापतिद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।








प्रतिक्रिया दिनुहोस् !