वीरगंज (पर्सा), ३ चैत । कालिकामाई गाउँपालिका वडा नं. ४ बलुवामा मंगलबार लागू औषधको बढ्दो जोखिमबारे सचेतना फैलाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । ‘लागू औषध विरुद्ध जनचेतना अभियान’ अन्तर्गत आयोजित उक्त कार्यक्रम कालिकामाई युवा समाजले इलाका प्रहरी कार्यालय पोखरियासँगको सहकार्यमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टिबलुवामा सञ्चालन गरेको हो ।
कार्यक्रममा युवा समाजका अध्यक्ष आकाश चौरसियाले पछिल्लो समय किशोर–किशोरी तथा युवाहरू लागू औषधको दुर्व्यसनतर्फ आकर्षित हुँदै गएको चिन्ता व्यक्त गरे । उनले अभियानको पहिलो चरणमा गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको जानकारी दिँदै दोस्रो चरणमा स्थानीय सरकारसँग सहकार्य गरेर अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउने योजना रहेको बताए ।
कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष राजमति देवी बरैनीले लागूऔषधको दुष्प्रभावले केवल प्रयोगकर्तालाई मात्र नभई सम्पूर्ण परिवारलाई नै असर पुर्याउने भएकाले सबैलाई यसबाट टाढा रहन आग्रह गरिन् । उनले समाजलाई सुरक्षित र स्वस्थ बनाउन यस्ता जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै अभियान सफल बनाउन आफू सधैं सहयोग गर्न तयार रहेको बताइन् ।
प्रशिक्षण सत्रमा प्रदीप पौडेल, प्रमुख प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालय पोखरियाले लागू औषध के हो, यसको लत लाग्ने कारणहरू, स्वास्थ्य तथा सामाजिक असर, रोकथामका उपाय र सम्बन्धित कानुनी व्यवस्था लगायत विषयमा विस्तृत जानकारी दिएका थिए । उनले लागू औषध सेवन तथा कारोबार दुवै गम्भीर अपराध भएकाले यसबाट टाढा रहन विद्यार्थीहरूलाई सचेत गराएका थिए ।
यसैक्रममा विद्यालय वरपरका पसल सञ्चालकहरूलाई समेत लागू औषधसँग सम्बन्धित कुनैपनि वस्तु बिक्री वितरण नगर्न प्रहरीले कडा चेतावनी दिएको छ । नियम उल्लंघन भएमा कानुन अनुसार कडा कारबाही गरिने स्पष्ट पारिएको छ ।
आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजमति देवी बरैनी सँगै विद्यालयका प्रधानाध्यापक इन्द्रदेव कुर्मी र राधाकिसुन प्रसाद चौरसिया, कट्टी बेस क्याम्पका सहायक प्रहरी निरीक्षक उपेन्द्र यादव, युवा समाजका पदाधिकारी तथा ठूलो संख्यामा शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको जानकारी संस्थाका सदस्य मोहन महतोले दिएका छन् ।








प्रतिक्रिया दिनुहोस् !