जनकपुरधाम, ३ चैत । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत कार्यरत यादवले सो अवधिमा विभिन्न संवेदनशील जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको आधारमा उक्त सम्मान प्राप्त गरेका हुन् ।
फागुन १९ गते सम्पन्न मिथिला माध्यमिकी अन्तगृह परिक्रमा मेला र त्यसपछिको २० गतेको होली पर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन उनले प्रभावकारी सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरेका थिए । यसैगरी, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन उनको भूमिका उल्लेखनीय रहेको प्रहरी स्रोतले जनाएको छ ।
निर्वाचन अवधिभर उनले जिल्ला प्रहरी कार्यालय धनुषाको निर्वाचन सेलमार्फत विस्तृत सुरक्षा योजना तयार पारेर त्यसको प्रभावकारी कार्यान्वयन गरेका थिए । राजनीतिक दलका सभा, जुलुस तथा प्रचार–प्रसार कार्यक्रमहरूलाई व्यवस्थित बनाउन उनले प्रहरी परिचालन गर्दै स्वयं कमाण्ड सम्हालेका थिए ।
यादवले मतदान केन्द्र तथा मतदानस्थलहरूको सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरी आवश्यकता अनुसार प्रहरी जनशक्ति परिचालन, नियमित मोबाइल गस्ती, निगरानी र चेकजाँचलाई तीव्रता दिएका थिए । साथै, उनले राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै निर्वाचन आचारसंहिता पालना गराउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।
मतदानको दिन मोबाइल कमाण्डरका रूपमा खटिएका यादवले मतदान प्रक्रिया सहज, सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिएका थिए । मतदान सम्पन्न भएपछि मतपेटिका संकलनदेखि मतगणना स्थलसम्मको सुरक्षा व्यवस्थापनमा पनि उनको सक्रियता देखिएको थियो । रुगम बहादुर कुँवर, प्रमुख प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय धनुषाले यादवको कर्तव्यनिष्ठा, अनुशासन र व्यावसायिक दक्षताको उच्च प्रशंसा गर्दै उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जानकारी दिएका छन् ।








प्रतिक्रिया दिनुहोस् !