वीरगंज (पर्सा), २७ फागुन । वीरगंज महानगरपालिका–२६ स्थित शिवम एग्रो इन्डस्ट्रीज प्रा.लि. बाट ठूलो परिमाणमा चामल चोरी भएको घटना सार्वजनिक भएको छ । स्थानीयका अनुसार होली पर्वको अघिल्लो रात मिल परिसरबाट ६० बोरा भन्दा बढी चामल चोरी भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा मिलमै कार्यरत दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकामाथि चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । यसका लागि जिल्ला अदालत पर्सा बाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१७ निवासी नितेश सहनी र सुमन सहनी रहेका छन् । उनीहरू दुवै शिवम एग्रो इन्डस्ट्रीजमै कार्यरत कर्मचारी हुन् । प्रहरीले अनुसन्धानका क्रममा वीरगंज–१७ को शिवान टोलस्थित बिक्रम पटेलको घरबाट ४० बोरा चामल बरामद गरेको जनाएको छ । उक्त चोरी प्रकरणमा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले बताएको छ । स्थानीयका अनुसार प्रहरी खोजी अभियान सुरु भएपछि गाउँका एक दर्जनभन्दा बढी युवक फरार भएका छन् । प्रहरीले फरार व्यक्तिहरूको खोजी जारी राख्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !