वीरगंज (पर्सा), १० फागुन । उज्यालो नेपाल पार्टी का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले वीरगंज महानगरपालिका–३२ स्थित परसवा गाउँमा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा गाउँका स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका उम्मेदवार सिंहले स्थानीयका गुनासा, सुझाव र अपेक्षा ध्यानपूर्वक सुनेका थिए । भेटघाटका क्रममा धेरैले विगतका राजनीतिक दल र उम्मेदवारहरूले विकास तथा रोजगारीका नाममा आश्वासन मात्रै बाँडेको तर व्यवहारमा उल्लेखनीय उपलब्धि नदेखिएको भन्दै असन्तुष्टि जनाएका थिए । चुनावको समयमा युवालाई प्रयोग गर्ने र जितेपछि बेवास्ता गर्ने प्रवृत्तिप्रति उनीहरूले रोष व्यक्त गरेका थिए । यसपटक भने परिणाममुखी र सक्षम नेतृत्वलाई समर्थन गर्ने अडान उनीहरूले राखेका थिए ।
कार्यक्रममा सहभागी स्थानीयहरूले कुलमान घिसिङ लाई काम गर्ने नेतृत्वका रूपमा उदाहरण दिँदै उज्यालो नेपाल पार्टीप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । सोही सन्दर्भमा उम्मेदवार सिंहप्रति समेत समर्थन जनाउँदै परिवर्तनका लागि नयाँ विकल्प रोज्नुपर्ने धारणा व्यक्त गरिएको थियो । उम्मेदवार सिंहले आफू निर्वाचित भए लगत्तै परसवा लगायत समग्र क्षेत्रका समस्या प्राथमिकताका आधारमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्दै गाउँ गाउँमा अवसर सिर्जना गर्ने योजना सुनाए ।
स्थानीय कलकारखानामा सक्षम र योग्य स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिन पहल गर्ने उनको वाचा थियो । यसअघि वीरगंज महानगरपालिका–२० मा निर्वाचित भएर काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्ने प्रतिबद्धता जनाउँदै सिंहले क्षेत्रीय विकासका मुद्दालाई सशक्त रूपमा उठाउने बताए । उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गरे ।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई स्वागत तथा सम्मान गर्दै आगामी निर्वाचनमा सफलताको शुभकामना दिएका थिए । घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ । 








प्रतिक्रिया दिनुहोस् !