वीरगंज (पर्सा), १० फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) की रिमा कुमारी यादवले आइतबार पर्सागढी नगरपालिका–३ झावराहामा घरदैलो तथा मतदाता भेटघाट गरेकी छन् । स्थानीय टोल–टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिन् ।
कार्यक्रमका क्रममा झावराहाका बासिन्दाले यादवलाई स्वागत गर्दै समर्थन जनाएका थिए । विशेषगरी जेनेरेसन–जी (जेन्जी) उमेर समूहका युवायुवतीको उल्लेखनीय सहभागिता देखिएको थियो । उनीहरूले युवा उम्मेदवारप्रति आशा व्यक्त गर्दै नयाँ सोच र सक्रिय नेतृत्वको आवश्यकता औंल्याएका थिए । मतदातासँग कुराकानी गर्दै यादवले आफू राजनीतिमा नयाँ अनुहार भए पनि बदलिँदो समय र युवापुस्ताको आकांक्षालाई प्रतिनिधित्व गर्न चुनावी मैदानमा उत्रिएको बताइन् ।
मुलुकले अब परम्परागत शैलीभन्दा फरक, सिर्जनात्मक र परिणाममुखी नेतृत्व खोजिरहेको उनको भनाइ थियो । ‘युवाको आवाज नीतिनिर्माण तहसम्म पुर्याउनु मेरो मुख्य उद्देश्य हो,’ उनले भनिन्, ‘सदनमा पुगेपछि जेन्जी पुस्ताका मुद्दालाई प्राथमिकताका साथ उठाउनेछु ।’ उनले रोजगारीको अभाव, सीप र अवसरबीचको असन्तुलन तथा प्रविधिमैत्री नीतिको कमीलाई युवापुस्ताले भोगिरहेको प्रमुख चुनौतीका रूपमा उल्लेख गरिन् ।
यी समस्याको समाधानका लागि सीप विकास कार्यक्रम, उद्यमशीलता प्रवद्र्धन, सूचना–प्रविधिमा पहुँच विस्तार तथा युवामैत्री विकास योजनालाई अघि सार्ने प्रतिबद्धता उनले व्यक्त गरिन् । यादवले एमालेको सांगठनिक अनुभव र स्थायित्वलाई युवाको ऊर्जा र नवप्रवर्तनशील सोचसँग जोडेर विकासलाई तीव्रता दिने दाबी गरिन् । स्थानीय तहका प्राथमिक समस्या समाधानमा जनताको सुझावलाई आधार बनाइने र निर्वाचित भएपछि पनि निरन्तर जनसम्पर्कमा रहने उनको प्रतिबद्धता थियो ।
घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता, महिला कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम उत्साहपूर्ण र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकहरूले बताएका छन् । यादवले आगामी दिनमा निर्वाचन क्षेत्रका अन्य वडामा समेत घरदैलो र जनसम्पर्क अभियानलाई निरन्तरता दिने जानकारी दिँदै मतदाताको विश्वास जित्ने अभियानलाई अझ सशक्त बनाउने बताइन् ।
यसैगरि पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शनिबार वडा कमिटी वीरगंज–१७ अलौले आयोजना गरेको चुनावी रणनीतिक छलफल कार्यक्रममा रास्वपाका युवा नेता धिरज उपाध्याय को नेतृत्वमा युवाहरू एमालेमा आबद्ध भएका हुन् ।
नवप्रवेशीहरूलाई पार्टीका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं. २ का इन्चार्ज बिजय कुमार सरावगी तथा वडा अध्यक्ष सन्जु छतकुली ले अबिर र खादा लगाई स्वागत गरे । कार्यक्रमका प्रमुख अतिथि सरावगीले देश निर्माणमा एमालेको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीलाई पुनः विजयी गराउन समर्थन मागे । उनले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवलाई जिताउन सबै नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे । 









प्रतिक्रिया दिनुहोस् !