वीरगंज (पर्सा), १० फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालप्रति युवाहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका रिजालप्रति युवा समुदायले समर्थन व्यक्त गर्दै ठोरी गाउँपालिका–३ ब्रम्हनगर नयाँवस्तीमा दर्जनौं युवा नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेताहरू विनोद लामा, सुभाष परियार, रविन मगर, राज आलेमगर, समिप मोक्तान, वकिल थिङ, फुर्वा लामा, रामकुमार विक, वीरमान घलान सहित तत्कालीन नेकपा माओवादी केन्द्रका देव श्रेष्ठ पनि कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेशको क्रममा उम्मेदवार रिजालले उनीहरूलाई अबीरटी लगाएर स्वागत गरे ।
पूर्वमन्त्री समेत रहेका रिजालले यस अवसरमा बदलिएको कांग्रेसले अब देश बदल्ने घोषणा गर्दै देशभर युवालाई नयाँ अवसर र नेतृत्व दिने प्रतिवद्धता व्यक्त गरे । उनले युवा नेता गगनकुमार थापा नेतृत्वमा अघि बढिरहेको कांग्रेसप्रति युवाहरूको विश्वास र आकर्षण बढ्दै गएको बताएका छन् ।
कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सहसचिव नवीन सिंह, युवा नेता जीवनकृष्ण श्रेष्ठ लगायतका पार्टी नेताहरूको उपस्थितिले कार्यक्रमको औपचारिकता र उत्साह दुवै बढाएको थियो ।
उक्त कार्यक्रमले पर्सा–४ मा चुनावी माहोलमा नयाँ तरंग ल्याएको छ । युवा वर्ग र स्थानीय नेताहरूको कांग्रेसमा प्रवेशले उम्मेदवार रिजालको जनसमर्थनमा महत्वपूर्ण वृद्धिको संकेत दिएको छ । समर्थकहरूको अनुसार, युवाहरूले अब आफ्नो भविष्य र क्षेत्रीय विकासका लागि रिजाल नेतृत्वको कांग्रेसमा भरोसा देखाएका छन् ।
राजनीतिक विश्लेषकहरूले पनि यो घटनालाई पर्सा–४ को निर्वाचन समीकरणमा निर्णायक कारकको रूपमा व्याख्या गरेका छन् । घरदैलो कार्यक्रम, युवाको सक्रिय सहभागिता र नयाँ नेताहरूको कांग्रेस प्रवेशले उम्मेदवार रिजाललाई बलियो दाबेदारको रूपमा प्रस्तुत गरेको देखिन्छ ।
यस क्रममा रिजालले स्थानीय समस्यामा ध्यान दिँदै रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारका योजना अघि बढाउने वचन दिएर मतदातासँग प्रत्यक्ष संवादलाई अझ प्रभावकारी बनाएका छन् । निर्वाचन नजिकिँदै जाँदा यो प्रकारको जनसमर्थन र युवा सहभागिताले आगामी निर्वाचनमा कांग्रेसको विजय सुनिश्चित गर्ने सम्भावना बलियो बनाएको विश्लेषकहरूको निष्कर्ष छ । 
























प्रतिक्रिया दिनुहोस् !