वीरगंज (पर्सा), ९ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुपेश कुमार पाण्डेले आफ्नो विस्तृत घोषणापत्र सार्वजनिक गर्दै रोजगारी, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर विकासको स्पष्ट खाका अघि सारेका छन् ।
‘समृद्ध पर्सा, आत्मनिर्भर नागरिक’ भन्ने लक्ष्यसहित सार्वजनिक गरिएको घोषणापत्रमा युवालाई स्वदेशमै रोजगारी सृजनामार्फत अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । स्वदेशमै रोजगारी सिर्जना कार्यक्रम सञ्चालन, साना तथा मझौला उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने तथा स्टार्टअप र सूचना प्रविधिमा आधारित उद्यमलाई विशेष प्रोत्साहन दिने योजना समेटिएको छ । यसले युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्दै उत्पादनशील क्षेत्रमा जोड्ने लक्ष्य राखिएको पाण्डेको भनाइ छ ।
कृषि तथा पशुपालन क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा प्रस्तुत गर्दै उनले कृषि आधुनिकीकरण र मेकानाइजेसनलाई प्राथमिकता दिएका छन् । मल र बीउमा अनुदान, कृषि बीमा कार्यक्रम सुदृढीकरण तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने विशेष योजना ल्याइने उल्लेख गरिएको छ । किसानलाई बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा छ ।
स्वास्थ्य क्षेत्र सुधारलाई अर्को मुख्य एजेण्डा बनाउँदै जिल्ला अस्पताल स्तरोन्नति, निःशुल्क आधारभूत स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने योजना सार्वजनिक गरिएको छ । दुर्गम तथा ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरिने उल्लेख छ ।
शिक्षा क्षेत्रतर्फ सार्वजनिक विद्यालय सुधार कार्यक्रम सञ्चालन, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र डिजिटल शिक्षाको विस्तार गर्ने लक्ष्य राखिएको छ । गुणस्तरीय शिक्षा प्रणालीमार्फत दक्ष जनशक्ति उत्पादन गरी स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने दीर्घकालीन सोच प्रस्तुत गरिएको छ ।
पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धतासहित सडक र पुल निर्माण, जलविद्युत् आयोजना अगाडि बढाउने तथा सिँचाइ र खानेपानी परियोजना विस्तार गर्ने योजना समावेश गरिएको छ । दीर्घकालीन योजना बनाएर व्यवस्थित र दिगो पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको पाण्डेयले बताएका छन् ।
सामाजिक सुरक्षातर्फ वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने, साथै गरिबी निवारण कार्यक्रम विस्तार गर्ने प्रतिवद्धता जनाइएको छ । समाजका विपन्न, ज्येष्ठ नागरिक तथा श्रमजीवी वर्गलाई प्राथमिकतामा राखेर समावेशी विकास अघि बढाइने उल्लेख छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा पाण्डेयले राजनीति केवल पद प्राप्तिका लागि नभई जनताको जीवनस्तर उकास्ने माध्यम हुनुपर्ने धारणा व्यक्त गरे । उनले आफूलाई मत दिएर विकासको यो संकल्पलाई साकार पार्न सहयोग गर्न मतदातासँग अपिल गरेका छन् ।
रुपेश कुमार पाण्डेको घोषणापत्रले पर्सा क्षेत्र नं. ३ मा रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई समेट्दै समावेशी तथा दीर्घकालीन विकासको स्पष्ट दिशा प्रस्तुत गरेको देखिन्छ । अब मतदाताको रोजाइले यी प्रतिबद्धता कार्यान्वयनको मार्ग तय गर्नेछ ।









प्रतिक्रिया दिनुहोस् !