वीरगंज (पर्सा), ७ फागुन । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा बिहीबार नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले घरदैलो कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा स्थानीय मतदाताले स्वागत गर्दै उम्मेदवारलाई सक्रिय समर्थन जनाएका छन् ।
बिहीबार दिउँसो आयोजित मतदाता भेटघाटमा रिजालले प्रत्येक घरमा पुगेर महिला, युवा र बृद्धबृद्धासँग प्रत्यक्ष संवाद गरेका थिए । घरभित्रबाट स्वस्फूर्त रूपमा निस्केका स्थानीयले टीका लगाएर स्वागत गरेका थिए। उनले मतदातासँग स्थानीय बासिन्दाका समस्या, आवश्यकताहरू र अपेक्षाबारे छलफल गर्दै नेपाली कांग्रेसका योजनाहरू र आफ्नो प्रतिबद्धताबारे जानकारी दिएका थिए ।
घरदैलो कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, नेपाल महिला संघ पर्साकी सभापति किरण शर्मा, वडाध्यक्ष, वडा सदस्य सहित कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा रिजालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा स्थानीय समस्याको समाधान र विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने आश्वासन दिए । उनले घरदैलो अभियानलाई मतदातासँग विश्वास र नजिकको सम्बन्ध बनाउन महत्वपूर्ण माध्यम भएको उल्लेख गरे ।
स्थानीय मतदाताले पनि कार्यक्रममा सहभागिता जनाउँदै कांग्रेस उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस घरदैलो कार्यक्रममा मतदाता र उम्मेदवारबीचको प्रत्यक्ष सम्पर्कले जगरनाथपुर–४ मा कांग्रेसको लोकप्रियता र समर्थनमा थप मजबुती आएको विश्लेषकहरूले बताएका छन् ।
रिजालको यो अभियानले स्थानीय मुद्दा बुझ्ने र जनताको अपेक्षालाई प्राथमिकता दिने स्वरूपमा अघि बढेको छ। आगामी निर्वाचनमा मतदातासँग सुदृढ सम्बन्ध राख्दै सक्रिय प्रचारप्रसारले कांग्रेस उम्मेदवारलाई क्षेत्रीय विजयमा महत्वपूर्ण फाइदा पुर्याउने अपेक्षा गरिएको छ । 








प्रतिक्रिया दिनुहोस् !