वीरगंज (पर्सा), ३० पुस । पर्सा जिल्लाका ग्रामीण भेगमा माघे संक्रान्ति तथा खिचडीका रूपमा मनाइने माघ १ गतेको माघी पर्व नजिकिँदै जाँदा चहलपहल उल्लेख्य रूपमा बढेको छ । आदिवासी जनजाति थारु समुदायको नयाँ वर्ष २०५० सुरु हुने अवसर भएकाले यस वर्ष पनि थारु समुदायले माघी पर्व विशेष उत्साह, उमङ्ग र सांस्कृतिक गौरवका साथ मनाउने तयारी गरेका छन् ।
थारु समुदायको प्राचीन परम्परा अनुसार माघ १ गतेलाई नयाँ वर्षको सुरुवातका रूपमा लिने गरिन्छ । यस दिन किसानहरूले पुरानो वर्षको आय-व्ययको हिसाबकिताब टुंग्याउने र नयाँ वर्षका लागि नयाँ आशा तथा योजना बनाउने चलन रहिआएको छ । पर्साका ग्रामीण भेगमा बसोबास गर्ने थारु समुदायसँगै अन्य समुदायका मानिसहरू पनि पर्वको तयारीमा जुटिरहेका छन् ।
मंगलबारदेखि नै यस क्षेत्रका गृहिणीहरू घर-आँगनको सरसफाइ, लत्ताकपडा धुने तथा घर सजाउने काममा व्यस्त देखिन्छन् । पर्वका लागि भुजाको लड्डु, चिउराको लड्डु, तिलको लड्डु, कसार लगायत परम्परागत परिकार तयार पार्ने र आवश्यक सामग्री किनमेल गर्ने क्रम तीव्र बनेको छ ।
माघ १ गते माघीका दिन बिहान स्थानीय खोला, नदी तथा जलाशयमा स्नान गरी किसानहरूले आफूले उत्पादन गरेका चामल, भुजा, तिल, रामदाना लड्डु तथा नयाँ बाली आलु, तोरी, नुनलगायत सामग्री स्पर्श गरी पुरोहितलाई दान दिने परम्परा छ । माघीको सौगातस्वरूप छोरी, बहिनीका ससुराली तथा आफन्तको घरमा माछा, मासु, मिठाई तथा विभिन्न परिकार पुर्याउने चलनले सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको छ ।
यस वर्ष पर्सा जिल्लाका पाँच स्थानमा माघी खिचडी विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ । वीरगंजको आदर्शनगरस्थित स्विमिङ पुलमा माघी खिचडी मूल समारोह समिति पर्साको आयोजनामा हुने कार्यक्रममा सम्पूर्ण तयारी पूरा भइसकेको संयोजक जङ्गबहादुर चौधरीले जानकारी दिए । कार्यक्रममा थारु संस्कृतिलाई झल्काउने मौलिक पहिरन, लोकगीत तथा नृत्य प्रस्तुत गरिने उनले बताए । साथै थारु सम्बतको नयाँ वर्षको अवसरमा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ ।
त्यसैगरी जिराभवानी गाउँपालिका वडा नं. ३ को नौकाटोला चोकमा पनि माघी खिचडी विशेष कार्यक्रम आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजना तथा वडा नं. ३ युवा समाजको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको स्थानीय युवा हरिशंकर रायले जानकारी दिए । कार्यक्रममा थारु समुदायका परम्परागत खानाका परिकार माछा, घोंगी, गंगटो, हाँस, परेवा तथा कुखुराको मासुका स्टलहरू राखिनेछन् ।
यस्तै, पटेर्वासुगौली गाउँपालिकाको आयोजनामा वडा नं. ४ को खेल मैदानमा तथा सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा पञ्चगावाको खुला मैदानमा माघी विशेष कार्यक्रम आयोजना गरिनेछ । उता थारु कल्याणकारी समिति पर्सागढी नगरपालिकाको आयोजनामा बागवानामा पनि माघी खिचडी कार्यक्रम मनाइने तयारी तीव्र रूपमा भइरहेको जनाइएको छ । माघी पर्व नजिकिँदै जाँदा पर्साको ग्रामीण क्षेत्र थारु संस्कृति, परम्परा र सामाजिक सद्भावले रंगिन बन्दै गएको देखिन्छ ।








प्रतिक्रिया दिनुहोस् !