वीरगंज (पर्सा), २९ भदौ / राष्ट्रिय योजना आयोग र क्लीन कुकिंग एलायन्स (सीसीए) को संयुक्त आयोजनामा वीरगंजमा खाना पकाउने स्वच्छ विद्युतीय उर्जाको प्रवर्धन विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ उर्जा अभियान कार्यक्रम अन्तरगत पालिका स्तरिय स्वच्छ उर्जा कार्यक्रम संचालन गर्न लागेको जानकारी गराउँदै अभियानले स्वच्छ उर्जा प्रयोगमा सचेतना लगाउनुको साथै संघिय र स्थानीय सरकारहरुको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम एलपी ग्यासको खपत घटाइ स्वदेशमा उत्पादित विद्युतको खपत बढाउने उद्देश्य रहेको सीसीएकी नेपाल कन्ट्री मेनेजर करुणा बज्राचार्यले वताइन । वीरगंजस्थित भिस्वा होटलमा भएको कार्यक्रममा वोल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विधुतीय चुल्हो (इन्डक्सन चुल्हो) को प्रयोग बढाउन सबैभन्दा पहिले विधुत आपूर्तिमा विद्यमान समस्या सामधान गर्नु पर्ने बताए । उनले भने,जब सम्म छिन छिनमा लाइन कट्ने समस्याबाट मुक्ति पाइदैन तब सम्म विद्युतीय चुल्होको प्रयोग बढाउन सकिँदैन । उनले वीरगंजमा अहिले पनि छिन छिनमा लाइन कट्ने समस्या विद्यमान नै रहेको बताए । यो समस्या सामधानका लागि आफुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै भेटेर ध्यानाकर्षण गराइसकेको भएपनि वीरगंजमा अझै विद्युत आपूर्तिमा रहेको समस्या पूर्णरूपमा समाधान नभएको उनले बताए ।
नेपाल सरकारले २० युनिट विद्युत निशुल्क गरेको र वीरगन्ज महानरपालिकाले साउन देखि ३० युनिट विद्युत निशुल्क गरेकाले वीरगंजका उपभोक्ताले महिनामा ५० प्रतिशत विद्युत निशुल्क पाइरहेकाले विद्युतीय चुल्होको प्रयोग बढाउने अभियानलाइ केही हदसम्म सहज हुने उनले बताए । विद्युतीय चुल्होको प्रयोग बढाउने अभियानलाई वीरगंज महानगरपालिकाले आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मेयर सिंहले जनाए । कार्यक्रममा नीति तथा उर्जा विज्ञ मोहन दास मानन्धरले सरकारले अनुदान दिन्छ भनेर कुर्नु भन्दा नागरिक आफैले विद्युतीय चुल्हो किनेर प्रयोग गर्नुपर्ने बताए । उनले एलपीजी ग्याँस भन्दा विद्युतीय चुल्होको प्रयोग गर्दा धेरै फाइदा हुने भएकाले यसको प्रयोग गर्न सुझाव दिए ।
विद्युतीय चुल्होको प्रयोग गर्दा एलपिजी ग्याँसको भन्दा कम खर्च लाग्ने, स्वास्थ्यमा समेत हानी नपुग्ने, इन्धन आयातमा विदेशीने मुद्रा पनि कम गर्न सकिने उनले बताए । उनले अहिले नेपालमा विद्युतको उत्पादन पनि बढ्दै गइरहेकाले विद्युतीय चुल्होको प्रयोग बढाउदा उर्जाको संकट नहुने उनले बताए । जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरन कुर्मीको अध्यक्षता एंव राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाल कर्णको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, हस्क पावर नेपाल प्रालिका निर्देशक मनोज गुप्ता लगायतकाले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस् !