वीरगंज (पर्सा), ७ मंसिर । सीमित आर्थिक स्रोत, सामान्य किसान परिवारको पृष्ठभूमि र ग्रामीण परिवेश । तर दृढ इच्छाशक्ति, निरन्तर मेहनत र अध्ययनप्रतिको लगावले पर्साको एउटा परिवारका तीनै सन्तानलाई निजामती सेवासम्म पुर्याएको छ ।
पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका सोनु कुमार सोनी, उनकी जेठी बहिनी संगिता सर्राफ र कान्छी बहिनी रबिता कुमारी सोनी सरकारी सेवामा प्रवेश गर्न सफल भएका छन् । सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका तीनै दाजुबहिनीले निजामती सेवामा आफ्नो स्थान बनाउँदै परिवारसँगै गाउँको प्रतिष्ठासमेत बढाएका छन् ।
तीन सन्तानमध्ये दाजु सोनु कुमार सोनी लेखापाल पदमा कार्यरत छन् । उनी हाल पर्साकै धोबिनी गाउँपालिकामा जिम्मेवारी सम्हालिरहेका छन् । जेठी बहिनी संगिता सर्राफले सहलेखापाल पदमा सरकारी सेवामा प्रवेश गरेकी हुन् ।
यसैक्रममा कान्छी बहिनी रबिता कुमारी सोनीले पनि पछिल्लो पटक खरिदार पदमा नाम निकाल्न सफल भएकी छन् । रबिताको सफलतासँगै एउटै किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा आबद्ध भएका छन् ।
आर्थिक अवस्था सामान्य भए पनि लक्ष्यप्रतिको प्रतिबद्धता र निरन्तर प्रयासले सफलता सम्भव हुन्छ भन्ने उदाहरण उनीहरूले प्रस्तुत गरेका छन् । ग्रामीण परिवेशमा हुर्किएर सरकारी सेवाको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्नु उनीहरूको व्यक्तिगत उपलब्धि मात्र नभई परिवारका लागि पनि ठूलो खुसीको विषय बनेको छ ।
तीनै दाजुबहिनीको सफलताले धोरे गाउँमा समेत सकारात्मक चर्चा पाएको छ । सीमित अवसर र स्रोतसाधनका बीच पनि लगनशील भएर अध्ययन गरे लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सन्देश उनीहरूको उपलब्धिले ग्रामीण क्षेत्रका विद्यार्थी तथा युवायुवतीमाझ प्रवाह गरेको छ ।
सामान्य किसान परिवारबाट निजामती सेवामा तीन सन्तानको एकसाथ उपस्थिति आफैँमा प्रेरणादायी उपलब्धि बनेको छ । उनीहरूको यात्राले सफलता हासिल गर्न आर्थिक सम्पन्नताभन्दा मेहनत, धैर्य र लक्ष्यप्रतिको निरन्तर समर्पण महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ । 


























प्रतिक्रिया दिनुहोस् !