वीरगन्ज (पर्सा), १६ जेठ / वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले जनतालाई सर्वोपरी मानेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सोमबार महानगरपालिकाको सभाकक्षमा महानगरका ३२ वटै वडा कार्यालयका सचिवहरुसँग छलफल गर्ने क्रममा मेयर सिंहले ‘जनतलाई सर्वोपरी मानेर काम गर्नु होला, जनताको गुनासो सम्बोधन गर्नुहोला’ भनेर निर्देशन दिए ।
वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काम गर्ने क्रममा यदि कोहिसँग कागजपत्र अपुग भए के–के नपुगेको हो सबै कागजको जानकारी दिएर एकैपटक मगाउन र पटक पटक दुख नदिन निर्देशन समेत दिए । कागज पुगेको छैन भने के के कागज पुगेन राम्ररी सम्झाएर एकैपटक सबै कागज लिएर आउन भन्नु होला, न कि आज यो पुगेन भोलि त्यो पुगेन भनेर सेवाग्राहीलाइ अल्झाउने र पटक पटक कार्यालयमा बोलाएर दुःख दिने काम नगर्न भने ।
वडा कार्यालयका सचिव काम विशेषले बाहिर जानु परेको अवस्थामा अर्काे विकल्प राखेर मात्र जान निर्देशन समेत दिए । महानगरका हरेक वडा कार्यालयमा सेवाग्राहीले प्रष्ट देख्ने र बुझने गरि नागरिक वडापत्र राख्न समेत मेयर सिंहले निर्देशन दिए ।
यसका साथै जनताको गुनासो सिधै मेयरसम्म पुग्ने गरि हरेक वडामा संयन्त्र निर्माण गर्न पनि उनले वडा सचिवहरुलाइ निर्देशन दिए । त्यस अवसरमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !