वीरगन्ज (पर्सा), १० जेठ / वीरगन्ज महानगरपालिका-३२ का विजय पन्जियार -चौधरी_ लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ- काठमाडौं महानगरपालिकाको नतिजाप्रति । बाराको जितपुर बजारमा औषधि पसल चलाउँदै आएका चौधरीले वीरगन्जमा नेवार समुदायका राजेशमान सिंह र काठमाडौंमा मधेसी मूलका बालेन्द्र साहले मेयरमा जितेको हेर्न आतुर रहेको बताए।
‘मलाई अन्य ठाउँको भन्दा पनि वीरगन्ज र काठमाडौंको बढी चासो छ,’ टेलिफोन सम्पर्कमा उनले भने, ‘यसमा मैले प्रत्येक गणनामा मत मात्र हैन, समाज जोडिदै गएको पाएको छु।’ विगतमा परम्परागत पार्टीमा भोट हाल्दै आएका चौधरीको चाहना यतिबेला पूरा हुने अन्तिम चरणमा छ। मधेसको व्यापारिक केन्द्र मानिने वीरगन्जको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले भारी मतान्तरका साथ बिजयी भएका छन् । सिंह ४६ हजार २१५ मत प्राप्त गरि महानगरपालिकाको मयरमा निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेबाट मेयर पदका उम्मेदवार विजय सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका थिए । सरावगी भन्दा सिंह २२ हजार ५४४ मत बढि ल्याई महानगरको मेयरमा विजयी भएका हुन् ।
‘मैले जात, धर्म, भूगोलभन्दा पनि उम्मेदवारको कुरा सुनेर भोट हालें,’ चौधरीले थपे, ‘यतिबेला काठमाडौं महानगरपालिकाका मतदाताले पनि यही बाटो पछ्याएको देख्दा सुन्दा खुसी लागेको छ।’ काठमाडौं महानगरपालिकाको मतगणनामा साहले सुरुका दिनदेखि नै अग्रता लिएका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई निरन्तर पछि पार्दै अघि बढेका साहले काठमाडौंको ‘कोर’ नेवार क्षेत्रबाट पनि विश्वासको मत पाएका छन्।
वीरगन्जका चौधरीजस्तै काठमाडौं महानगरका मतदाताले पनि उम्मेदवारको खुबी हेरेर मतदान गरेको सुनाउँछन् । ‘हामी महानगरका उम्मेदवार साहको विचारबाट प्रभावित बन्यौं,’ काठमाडौं जैसीदेवलकी निशा महर्जनले भनिन्, ‘यसले परम्परागत भोट हाल्ने ट्रेन्डमा परिवर्तन आएको छ।’
प्रतिक्रिया दिनुहोस् !