वीरगंज (पर्सा), १८ असोज । वीरगंज–रक्सौल जोड्ने मितेरी पुल हुँदै भारततर्फ ठूलो परिमाणमा अवैध लागूऔषध चरेस लैजाँदै गरेको अवस्थामा एक नेपाली नागरिक पक्राउ परेका छन् । भारतीय सुरक्षा निकायले विशेष सूचनाका आधारमा गरेको संयुक्त चेकजाँचका क्रममा ११ किलोभन्दा बढी चरेससहित वीरगञ्जका एक युवकलाई नियन्त्रणमा लिएको हो ।
भारततर्फ ठूलो मात्रामा लागूऔषध ओसारपसार हुन लागेको सूचनापछि एसडीपीओ मनिष कुमार आनन्दको कमान्डमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले शनिबार साँझ सीमावर्ती क्षेत्रमा विशेष निगरानी तथा चेकजाँच अभियान सञ्चालन गरेको थियो ।
सोही क्रममा वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेको शंकास्पद ई–रिक्सालाई रोकेर सुरक्षा टोलीले खानतलासी गर्दा रिक्साभित्र लुकाएर राखिएको बोराबाट २२ वटा कालो प्लास्टिकका प्याकेट फेला परेका थिए । ती प्याकेटमा ११ किलो २४६ ग्राम चरेस प्याक गरिएको अवस्थामा बरामद भएको भारतीय सुरक्षा निकायले जनाएको छ ।
चरेससहित पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–छपकैयाका ३९ वर्षीय अमर चौधरी रहेका छन् । बरामद लागूऔषध र ई–रिक्सासहित चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको एसएसबीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट बरामद चरेस मकवानपुरका विभिन्न स्थानबाट सङ्कलन गरी बारा र पर्साको बाटो हुँदै भारत पुर्याउने तयारी गरिएको खुलेको भारतीय सुरक्षा निकायले जनाएको छ ।
तर, घटनाको अर्को गम्भीर पक्ष भनेको मकवानपुरदेखि वीरगंजको सीमासम्म राजमार्ग तथा विभिन्न सुरक्षा जाँचस्थल पार गर्दै ११ किलोभन्दा बढी लागूऔषध पुगेको तथ्य हो । ठूलो परिमाणमा चरेस नेपालका विभिन्न सुरक्षा जाँचस्थल पार गरेर मितेरी पुलसम्म आइपुग्नु र भारतीय भूमिमा प्रवेश गर्ने क्रममा मात्रै बरामद हुनुले नेपालतर्फको सुरक्षा निगरानी र चेकजाँच प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।
खुला सीमाको फाइदा उठाउँदै लागूऔषधको अन्तरदेशीय कारोबार तथा ओसारपसार भइरहेको यो घटनाले सीमा क्षेत्रमा मात्रै नभई नेपालभित्रै लागूऔषधको स्रोत, ओसारपसारको मार्ग र संलग्न सञ्जालमाथि समेत प्रभावकारी निगरानी आवश्यक रहेको देखाएको छ । विशेषगरी मकवानपुरबाट बारा–पर्सा हुँदै वीरगंज नाकासम्म ठूलो परिमाणको लागूऔषध कसरी सहज रूपमा पुग्यो भन्ने विषयमा गहिरो अनुसन्धान र सुरक्षा संयन्त्रबीच समन्वय आवश्यक देखिएको छ ।












प्रतिक्रिया दिनुहोस् !