Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राराब क्याम्पसमा आर्थिक अनियमितताकाे जालाेः २० करोड शुल्क असुलियो तर बैंकमा जम्मा भएन

विद्यार्थीले बुझाएको शुल्कको हिसाब वर्षौंसम्म नमिल्दा पनि सम्बन्धित निकायबाट प्रभावकारी निगरानी हुन नसक्नु, अनुसन्धानका क्रममा संकलित प्रमाण आगलागीमा नष्ट हुनु र प्रतिवेदन आएपछि पनि कारबाही अघि नबढ्नुले यो प्रकरणमा लेखा सहायकको भूमिकासँगै क्याम्पस नेतृत्व तथा लेखापरीक्षण गर्ने निकायको जिम्मेवारीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ। अब मुख्य चुनौती हिनामिना भएको रकम यकिन गर्नु, संलग्न सबैको भूमिका पहिचान गर्नु र विद्यार्थीको रकम फिर्ता गराउनु हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १२, २०८३
राराब क्याम्पसमा आर्थिक अनियमितताकाे जालाेः २० करोड शुल्क असुलियो तर बैंकमा जम्मा भएन

जनकपुरधाम (धनुषा), १२ मंसिर । धनुषाको जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थीले बुझाएको शुल्क बैंकमा जम्मा नभएको विषयले ठूलो आर्थिक अनियमितताको रूप लिएको छ । विद्यार्थीले शुल्क तिरेको रसिद देखाउँदा पनि क्याम्पसको अभिलेखमा रकम नदेखिएपछि सुरु भएको छानबिनमा पछिल्लो पाँच वर्षमा २० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको आशंका गरिएको छ ।

क्याम्पसमा करिब २० हजार विद्यार्थी अध्ययनरत छन् । उनीहरूबाट विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत संकलन गरिएको शुल्कमध्ये ठूलो रकम बैंकमा दाखिला नभएको अनुसन्धानबाट खुलेको हो । प्रारम्भमा ३६ जना विद्यार्थीले आफूहरूले बुझाएको शुल्क क्याम्पसको खातामा नदेखिएको भन्दै प्रशासनसमक्ष उजुरी दिएका थिए । त्यसपछि सुरु भएको अनुसन्धानले आर्थिक अनियमितताको दायरा निकै ठूलो रहेको देखाएको छ ।

अनुसन्धानमा लेखा सहायक सञ्जय दासको नाम मुख्य रूपमा जोडिएको छ । विद्यार्थीलाई दिइएको रसिद र क्याम्पसमा राखिने कार्यालय प्रतिलिपिमा फरक रकम उल्लेख गर्ने, रकम बैंकमा जम्मा नगर्ने र एउटै रसिद नम्बरबाट फरक–फरक व्यक्तिसँग शुल्क उठाउनेजस्ता गतिविधि भएको पाइएको छ ।

२०७७ साउनदेखि २०८२ पुससम्मका कागजात अध्ययन गर्दा विभिन्न शीर्षकमा ६ करोड २४ लाख रुपैयाँ हिनामिना भएको प्रमाण फेला परेको त्रिविका अधिकारीहरूको भनाइ छ । यसबाहेक २२ प्याडमा रहेका करिब २ हजार २०० रसिदको हिसाबसमेत भेटिएको छैन । ती रसिदका आधारमा थप १३ देखि १४ करोड रुपैयाँसम्म अनियमितता भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसरी समग्रमा २० करोड रुपैयाँभन्दा बढी रकमको हिसाब अस्पष्ट बनेको छ । यद्यपि, हराएका रसिदबाट उठाइएको वास्तविक रकमको यकिन विवरण अझै सार्वजनिक भएको छैन ।

यो प्रकरणमा सबैभन्दा गम्भीर प्रश्न प्रमाण नष्ट भएको घटनालाई लिएर उठेको छ । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्याम्पसको लेखा शाखा र तत्कालीन क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भएको थियो । क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले अन्य कार्यालय सुरक्षित रहँदा लेखा शाखा र प्रमुखको कार्यकक्ष मात्र जल्नुले प्रमाण नष्ट गर्ने उद्देश्य रहेको आशंका गरेका छन् ।

त्रिविबाट आएको पहिलो अनुसन्धान टोलीले विद्यार्थीका रसिद संकलन गरेर अध्ययन सुरु गरेको थियो। तर, टोली २४ घण्टामै काठमाडौं फर्किएर प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान अपूरो भएको भन्दै दोस्रो टोली पठाउने तयारी भइरहेका बेला आगजनी भएको बताइएको छ। आगलागीमा पहिलो टोलीले संकलन गरेका अधिकांश रसिदसमेत नष्ट भए ।

आगजनीपछि बाँकी रहेका कागजातको अध्ययन गर्दा मात्रै ६ करोड २४ लाख रुपैयाँको अनियमिततासम्बन्धी प्रमाण फेला परेको हो । त्यसपछि पनि कागजात नियन्त्रणमा लिने वा हराउने प्रयास भएको आरोप लागेको छ । २०८२ कात्तिकमा दासको नेतृत्वमा केही व्यक्ति लेखा शाखामा प्रवेश गरी फाइल लैजान खोजेको क्याम्पसका एक कर्मचारीले बताएका छन् । सीसीटीभीमा गतिविधि देखिएपछि उनीहरूलाई बाहिर निकालिएको उनको भनाइ छ ।

यस प्रकरणमा दासविरुद्ध क्याम्पस प्रशासनले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको थियो । प्रहरीका अनुसार २०८२ कात्तिक २७ गते आपराधिक उपद्रवसम्बन्धी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको थियो । उनी मंसिर १० गते ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । त्यसपछि क्याम्पसमा हाजिर हुन पुगे पनि मुद्दा विचाराधीन रहेकाले प्रशासनले उनलाई हाजिर गराएको छैन ।

अनुसन्धानका क्रममा रकम हिनामिना गर्ने विभिन्न तरिका अपनाइएको देखिएको छ । विद्यार्थीलाई दिइएको रसिदमा वास्तविक शुल्क उल्लेख गर्ने तर कार्यालय प्रतिलिपिमा रकम घटाएर लेख्ने गरिएको थियो। यसरी रसिद र कार्यालय प्रतिलिपिबीच रकम फरक पारेर मात्रै ४ करोड १४ लाख रुपैयाँ अनियमितता भएको पाइएको छ ।

त्यस्तै, रसिदमा रकम उल्लेख भए पनि बैंकमा दाखिला नगरी १ करोड २७ लाख रुपैयाँ, शुल्क मिलानको नाममा १० लाख ७० हजार रुपैयाँ र रसिद नम्बर नै नराखी संकलन गरिएको ४ लाख ९९ हजार रुपैयाँको हिसाब भेटिएको छैन ।

एउटै रसिद नम्बर प्रयोग गरेर फरक व्यक्तिसँग रकम उठाउँदा २८ लाख ६७ हजार रुपैयाँ र क्याम्पस प्रतिलिपि नभएका रसिदबाट शुल्क संकलन गर्दा ३८ लाख ५० हजार रुपैयाँ हिनामिना भएको अनुसन्धानले देखाएको छ । यी शीर्षकबाट मात्रै ६ करोड २४ लाख रुपैयाँ अनियमितता भएको उल्लेख छ ।

क्याम्पसको लेखा शाखामा बैंक काउन्टरसमेत स्थापना गरिएको थियो । २०७९ कात्तिक ४ गतेदेखि सञ्चालनमा आएको उक्त काउन्टर हुँदाहुँदै पनि विद्यार्थीबाट नगद रकम संकलन गर्ने गरिएको कर्मचारीहरूको भनाइ छ । विद्यार्थीले शुल्क बुझाएपछि रसिद पाउने तर उक्त रकम बैंकमा जम्मा नहुने अवस्था वर्षौंदेखि चलिरहेको उनीहरूको दाबी छ ।

आर्थिक वर्षअनुसार क्याम्पसमा दाखिला हुनुपर्ने र वास्तविक रूपमा बैंकमा जम्मा भएको रकमबीच ठूलो अन्तर देखिएको छ । बीबीए, बीआईटी, सीएसआईटी, बीए, बीएस्सी माइक्रोबायोलोजीलगायत कार्यक्रमबाट उठ्नुपर्ने शुल्कको विवरणले पनि अनियमितताको अवस्था देखाउँछ ।

२०७७/०७८ मा २ करोड ७९ लाख रुपैयाँ बैंकमा दाखिला हुनुपर्नेमा २५ लाख २४ हजार रुपैयाँ मात्रै जम्मा भएको थियो । २०७८/०७९ मा ४ करोड १५ लाख दाखिला हुनुपर्नेमा ६५ लाख ४९ हजार, २०७९/०८० मा ४ करोड १२ लाख हुनुपर्नेमा १ करोड ३१ लाख र २०८०/०८१ मा ३ करोड ५९ लाख हुनुपर्नेमा १ करोड ४७ लाख रुपैयाँ मात्रै बैंकमा जम्मा भएको देखिन्छ ।

त्यस्तै, २०८१/०८२ मा दाखिला हुनुपर्ने २ करोड ५६ लाख रुपैयाँमध्ये बैंकमा कुनै रकम जम्मा भएको अभिलेख भेटिएको छैन । यी पाँच आर्थिक वर्षको विवरणमा मात्रै १३ करोड ५३ लाख रुपैयाँको हिसाब मिलेको छैन ।

यति ठूलो रकमको अन्तर देखिँदासमेत क्याम्पस प्रशासनले समयमै छानबिन नगरेको विषयले तत्कालीन पदाधिकारीहरूको भूमिकामाथि प्रश्न उठाएको छ । पाँच वर्षको अवधिमध्ये साढे चार वर्ष क्याम्पस प्रमुख रहेका प्रदीप प्रसाद र तत्कालीन लेखा प्रमुख देवेन्द्र शाहले आफूहरूलाई अनियमितताबारे जानकारी नभएको बताएका छन् ।

प्रदीप प्रसादले लेखा शाखाको जिम्मेवारी लेखा प्रमुखको भएको दाबी गर्दै त्रिविको आन्तरिक लेखापरीक्षण र महालेखापरीक्षकको टोलीले पनि नियमित रूपमा अडिट गर्ने गरेको बताएका छन् । हरेक वर्ष अडिट हुँदा यस्तो ठूलो अनियमितता कसरी पत्ता लागेन भन्ने उनको प्रश्न छ ।

लेखा प्रमुख देवेन्द्र शाहले पनि आफू निमित्त प्रमुख मात्रै रहेको र लेखाको सम्पूर्ण काम एक्लैले सम्हाल्नुपर्ने अवस्था रहेको बताएका छन् । रसिद काट्ने जिम्मेवारी अर्कै कर्मचारीको भएको उनको भनाइ छ । तर, क्याम्पसमा प्रत्येक वर्ष आन्तरिक लेखापरीक्षण र महालेखापरीक्षकको टोलीबाट लेखापरीक्षण हुने गरेको अवस्थामा करोडौँ रुपैयाँको अन्तर कसरी वर्षौंसम्म पहिचान भएन भन्ने प्रश्न अझै अनुत्तरित छ ।

त्रिविको दोस्रो अनुसन्धान टोलीले प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनले दासलाई मुख्य जिम्मेवार ठहर गर्दै ६ करोड २४ लाख रुपैयाँ तत्काल असुल गर्नुपर्ने र हराएका रसिदबाट भएको थप अनियमितताको छानबिन गर्नुपर्ने सिफारिस गरेको त्रिविका अधिकारीहरूले बताएका छन् । तर, प्रतिवेदन आए पनि अहिलेसम्म संलग्न कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढेको छैन । त्रिविको कर्मचारीसम्बन्धी नियममा आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्नलाई सेवाबाट हटाउन सक्नेसम्मको व्यवस्था छ ।

राराब क्याम्पसका वर्तमान प्रमुख प्रा.डा. बसन्तकुमार कर्णले केन्द्रबाट आएको निर्णयअनुसार थप प्रक्रिया अघि बढाइने बताएका छन् । यता त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले प्रतिवेदन प्राप्त भएको र अध्ययन भइरहेको जनाउँदै दोषीलाई प्रचलित कानुन तथा विश्वविद्यालयको नियमअनुसार कारबाही गर्ने बताएका छन् ।

विद्यार्थीले बुझाएको शुल्कको हिसाब वर्षौंसम्म नमिल्दा पनि सम्बन्धित निकायबाट प्रभावकारी निगरानी हुन नसक्नु, अनुसन्धानका क्रममा संकलित प्रमाण आगलागीमा नष्ट हुनु र प्रतिवेदन आएपछि पनि कारबाही अघि नबढ्नुले यो प्रकरणमा लेखा सहायकको भूमिकासँगै क्याम्पस नेतृत्व तथा लेखापरीक्षण गर्ने निकायको जिम्मेवारीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ। अब मुख्य चुनौती हिनामिना भएको रकम यकिन गर्नु, संलग्न सबैको भूमिका पहिचान गर्नु र विद्यार्थीको रकम फिर्ता गराउनु हो ।

Tags: राराब क्याम्पसः विद्यार्थीको शुल्कमा २० करोडको घोटालाको आशंका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

मंसिर १२, २०८३
जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

मंसिर १२, २०८३
राराब क्याम्पसमा आर्थिक अनियमितताकाे जालाेः २० करोड शुल्क असुलियो तर बैंकमा जम्मा भएन

राराब क्याम्पसमा आर्थिक अनियमितताकाे जालाेः २० करोड शुल्क असुलियो तर बैंकमा जम्मा भएन

मंसिर १२, २०८३
नेपालमा हुन्डीको सबैभन्दा ठूलो सञ्जाल मधेशमाः ५३ प्रतिशत शंकास्पद कारोबार यहीँ केन्द्रित

नेपालमा हुन्डीको सबैभन्दा ठूलो सञ्जाल मधेशमाः ५३ प्रतिशत शंकास्पद कारोबार यहीँ केन्द्रित

मंसिर १२, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि