जनकपुरधाम (धनुषा), ८ मंसिर । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने रेल सेवा सञ्चालनमा आएपछि धार्मिक पर्यटन र दुई देशबीचको आवागमनमा नयाँ सम्भावना खुलेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार जनकपुरधाम आइपुगेको हो ।
तर, अहिले सञ्चालनमा आएको रेल सेवा जनकपुरधाम–अयोध्यामा मात्र सीमित छ । जबकि यसअघि नेपाल सरकारले जनकपुरधामबाट अयोध्या हुँदै भारतको राजधानी नयाँदिल्लीसम्म रेल सञ्चालन गर्ने प्रस्ताव अघि बढाएको थियो । उक्त प्रस्तावमा भारतले समेत सकारात्मक चासो देखाउँदै थप प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको तत्कालीन अधिकारीहरूले बताएका छन् ।
जनकपुरबाट दिल्लीसम्म रेल सञ्चालन गर्ने विषयमा दुई देशबीच पटक–पटक पत्र आदानप्रदान भएको र प्रस्तावित सेवाको सञ्चालन ढाँचाबारे समेत छलफल भएको थियो । तर, प्रारम्भिक सहमति र सकारात्मक प्रतिक्रियाका बाबजुद उक्त योजना कार्यान्वयनमा आउन सकेन । अन्ततः अहिले अयोध्यासम्मको रेल सेवा मात्र सञ्चालनमा आएको छ । दिल्लीसम्म रेल विस्तार गर्ने प्रस्ताव किन अघि बढ्न सकेन भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन ।
दिल्लीसम्म रेल लैजाने विषयमा भारत सकारात्मक थियोः तत्कालीन प्रबन्ध सञ्चालक
नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाका अनुसार जनकपुर–अयोध्या हुँदै दिल्लीसम्म रेल सञ्चालन गर्ने विषयमा विगतमा भारतसँग गम्भीर छलफल भएको थियो । उनका अनुसार तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कार्यकालमा उक्त प्रस्ताव अघि सारिएको थियो । भारतबाट सकारात्मक प्रतिक्रिया आएपछि दुवै देशबीच यस विषयमा पटक–पटक पत्राचार भएको र रेल सञ्चालनका लागि समयतालिका मिलाउने कामसमेत भइरहेको थियो ।
झाले जनकपुरदेखि अयोध्या हुँदै दिल्लीसम्म रेल पुर्याउने विषयमा लगभग सहमति जुटिसकेको दाबी गरे । उद्घाटन गर्ने तहसम्म छलफल अघि बढेको भए पनि आफू जिम्मेवारीबाट हटेपछि त्यसपछिको प्रक्रियाबारे जानकारी नभएको उनले बताए । उनका अनुसार रेल सञ्चालनसँग सम्बन्धित समयतालिका र अन्य प्राविधिक विषयमा भारतसँग छलफल भइरहेको थियो । तर, बीचमा कुन कारणले योजना अयोध्यासम्म मात्र सीमित भयो भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि जनकपुरबाट दिल्लीसम्म रेल सञ्चालन गर्ने प्रस्ताव अघि बढेको पुष्टि गरेका छन् । उनका अनुसार भारतले उक्त प्रस्तावप्रति सकारात्मक धारणा राखेको थियो । रेल सञ्चालनसम्बन्धी कामलाई छिटो अगाडि बढाउन भारतबाट रेल्वेसम्बन्धी एक जना विज्ञलाई सल्लाहकारका रूपमा राख्नुपर्ने प्रस्तावसमेत आएको थियो ।
तर, सल्लाहकार नियुक्ति र अन्य प्रक्रियामा समय बित्दै जाँदा योजना अपेक्षित रूपमा अघि बढ्न नसकेको उनले बताए। त्यसपछि के कारणले प्रक्रिया रोकियो भन्नेबारे आफूलाई जानकारी नभएको ज्वालाको भनाइ छ ।
यस विषयमा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवप्रसाद शर्माको धारणा भने केही फरक छ । उनका अनुसार जनकपुरबाट एउटै रेल सीधै दिल्लीसम्म सञ्चालन गर्ने विषयमा कुनै ठोस सहमति भएको थिएन । उनले जनकपुरबाट अयोध्यासम्म रेलमार्गबाट गएपछि त्यहाँबाट अर्को रेलमार्फत दिल्ली पुग्ने गरी कनेक्सन मिलाउने विषयमा सामान्य छलफल भएको बताए । तर, उक्त योजनाले अन्तिम रूप पाउन नसकेको उनको भनाइ छ ।
यसले जनकपुर–दिल्ली रेल सेवाको प्रस्तावबारे तत्कालीन अधिकारीहरूबीच नै बुझाइ फरक रहेको देखाउँछ। कसैले एउटै रेलमार्गमार्फत दिल्लीसम्म सेवा सञ्चालन गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् भने पूर्वसचिव शर्माले अयोध्याबाट अर्को रेल चढ्ने विकल्पबारे मात्र छलफल भएको बताएका छन् ।
अहिलेका प्रबन्ध सञ्चालकलाई दिल्लीसम्मको प्रस्तावबारे जानकारी छैन
नेपाल रेल्वे कम्पनीका वर्तमान प्रबन्ध सञ्चालक परिवेश पराजुलीले भने जनकपुरबाट दिल्लीसम्म रेल सञ्चालन गर्ने विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । उनका अनुसार जनकपुर–अयोध्या रेल सेवाबारे छलफल भएको र सहमति जुटेपछि त्यसको उद्घाटन गरिएको हो । दिल्लीसम्म सेवा विस्तार गर्ने प्रस्तावबारे आफूलाई जानकारी नभएको उनले स्पष्ट पारे ।
यसले विगतमा अघि बढाइएको भनिएको दिल्लीसम्मको रेल योजनाको पछिल्लो अवस्था र त्यसको संस्थागत निरन्तरताबारे प्रश्न उठाएको छ । जनकपुर हुँदै अयोध्या र दिल्लीसम्म रेल सञ्चालन गर्ने विषय केवल मौखिक छलफलमा मात्र सीमित थिएन भन्ने देखाउने एउटा सरकारी पत्रसमेत सार्वजनिक भएको छ ।
२०८० फागुन १५ गते नेपाल रेल्वे कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको पत्रमा नेपाल र भारतबीच जनकपुर, अयोध्या हुँदै दिल्लीसम्म रेल सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको उल्लेख छ । पत्रअनुसार यस विषयमा दुई देशबीच पटक–पटक पत्र आदानप्रदानसमेत भएको थियो । उक्त पत्रमा नेपाल र भारतबीच विभिन्न स्थानमा बस सेवा सञ्चालनका लागि भएको सम्झौतालाई आधार बनाउँदै जनकपुरदेखि अयोध्या तथा दिल्लीसम्म प्रत्यक्ष रेल सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरिएको थियो ।
नेपालसँग आफ्नै रेल सेट उपलब्ध नहुँदासम्म भारतीय रेल सेट प्रयोग गरेर सेवा सञ्चालन गर्ने विकल्प पनि पत्रमा उल्लेख गरिएको थियो । यसरी सेवा सञ्चालन गर्दा नेपाली रेलमार्ग प्रयोग गरेबापतको शुल्क तथा जनकपुरधाममा टिकट बुकिङबाट प्राप्त हुने रकम नेपाल रेल्वे कम्पनीले पाउने गरी व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरिएको थियो ।
त्यस्तै, यात्रु आवागमन सहज बनाउन नेपालतर्फ इनरुवा र भारततर्फ जयनगरमा अध्यागमनसम्बन्धी कार्यालय स्थापना गर्नुपर्ने विषय पनि पत्रमा समेटिएको थियो । पत्रमा प्रस्तावित रेल सेवाका अन्य प्राविधिक तथा सञ्चालनसम्बन्धी विषय नेपाल र भारतबीच ६ अक्टोबर २०२१ मा भएको ‘ज्वाइन्ट स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर’ अनुसार हुने उल्लेख गरिएको छ ।
अयोध्यासम्म सेवा सुरु, दिल्ली विस्तारको विषय अझै अनिश्चित
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सुरु हुनुलाई दुई देशको धार्मिक तथा सांस्कृतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले रामायणकालीन धार्मिक सम्बन्ध भएका दुई सहरबीच तीर्थयात्रा सहज बनाउने अपेक्षा गरिएको छ ।
तर, विगतमा दिल्लीसम्म रेल सेवा विस्तार गर्ने विषयमा भएको छलफल र पत्राचारले अहिलेको सेवाको दायराबारे थप चासो सिर्जना गरेको छ । दिल्लीसम्म रेल सञ्चालनको प्रस्तावमा भारतको प्रतिक्रिया, त्यसपछिको प्राविधिक प्रक्रिया र अन्ततः योजना रोकिएको कारणबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिन सकेका छैनन् ।
अहिले जनकपुर–अयोध्या सेवा सञ्चालनमा आएसँगै आगामी दिनमा यसलाई भारतका अन्य प्रमुख सहरसम्म विस्तार गर्न सकिने सम्भावना पनि बहसमा आएको छ । त्यसका लागि विगतका प्रस्तावको अवस्था सार्वजनिक गर्दै दुई देशबीच आवश्यक कूटनीतिक, प्राविधिक र प्रशासनिक समन्वय अघि बढाउनुपर्ने देखिन्छ ।
जनकपुरबाट अयोध्यासम्म सुरु भएको रेल सेवालाई भविष्यमा दिल्लीसम्म विस्तार गर्न सकिए धार्मिक यात्रासँगै व्यापार, पर्यटन र दुई देशका नागरिकबीचको आवागमनमा समेत थप सहजता आउन सक्नेछ । तर, त्यसका लागि विगतको प्रस्ताव किन कार्यान्वयन हुन सकेन भन्ने विषयको स्पष्टता र नयाँ पहल आवश्यक देखिन्छ ।


























प्रतिक्रिया दिनुहोस् !