वीरगंज (पर्सा), ८ मंसिर । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामानसहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगंज महानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा कारबाही गर्दै ईभी अटो र दुईवटा पिकअपसहित ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंसिर ६ गते दिउँसो करिब १२ः४० बजे वीरगंज महानगरपालिका–१० रानीघाटबाट भन्सार छली गरी ल्याइएका सामानसहित एउटा ईभी अटो नियन्त्रणमा लिइएको थियो । उक्त अटोमा खाद्यान्नलगायतका सामान फेला परेको र तिनको मूल्य ४ लाख २३ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मंसिर ७ गते साँझ करिब ७ बजे वीरगंज महानगरपालिका–१७ रामगढवाबाट प्रहरीले दुईवटा भारतीय नम्बर प्लेटका पिकअप नियन्त्रणमा लिएको थियो । बीआर ०५ जीसी ५८४० र बीआर ३१ जी ९७१७ नम्बरका पिकअपमा भन्सार प्रक्रिया पूरा नगरी ल्याइँदै गरेका कपडालगायतका सामान बरामद भएका थिए ।
प्रहरीका अनुसार रामगढवाबाट बरामद सामानको मूल्य १७ लाख ७९ हजार २ सय रुपैयाँ रहेको छ । रानीघाट र रामगढवाबाट बरामद गरिएका सामान तथा तीनवटा सवारीसाधनको कुल मूल्य २२ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले भन्सार छलीमा प्रयोग गरिएका सवारीसाधनसहित बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।
सीमावर्ती क्षेत्रबाट हुने भन्सार छली नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाही जारी राखेको जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस् !