जनकपुरधाम (धनुषा), ८ मंसिर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र सद्भावको प्रतीकका रूपमा मनाइने सामा चकेवा पर्व सम्पन्न भएको छ । कात्तिक शुक्ल पञ्चमीदेखि सुरु भएको यो पर्व पूर्णिमाको राति सामा चकेवाका आकृतिहरू नदी, पोखरी तथा तालतलैयामा विसर्जन गरेसँगै समापन भएको हो ।
दस दिनसम्म मिथिलाञ्चलका गाउँबस्तीमा गीत, संगीत र नाचगानका साथ मनाइएको यस पर्वमा दिदीबहिनी, छोरी, बुहारी तथा महिलाहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गरेका थिए । पर्वको सुरुवात कात्तिक पञ्चमीका दिन माटो संकलन गरेर सामा चकेवाका विभिन्न आकृति निर्माण गर्ने परम्पराबाट हुन्छ । यस दिन महिलाहरू समूह बनाएर गीत गाउँदै खेत तथा भिरमा पुग्छन् । त्यहाँ दाजुभाइको हातबाट माटो खनेर ल्याउने परम्परा छ । सोही माटोलाई गिलो बनाएर सामा, चकेवा लगायतका विभिन्न कलात्मक आकृति तयार गरिन्छ ।
माटोबाट बनाइएका आकृति सुकेपछि त्यसमा विभिन्न रङ प्रयोग गरी आकर्षक बनाइन्छ। त्यसपछि रातिदेखि नै सामा चकेवा खेल्न सुरु गरिन्छ । दस दिनसम्म रातिको समयमा रातो रङको बाँसको डालामा सामा चकेवाका आकृति सजाएर दियो बाल्ने गरिन्छ । महिलाहरूले ती आकृति बोकेर गाउँका चोक, चौतारा, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटसम्म पुगेर सामा चकेवासम्बन्धी परम्परागत गीत गाउँदै नाचगान गर्छन् ।
पर्वको अन्तिम दिन अर्थात् पूर्णिमाका दिन टुटफुट भएका सामा चकेवाका आकृतिलाई पुनः मर्मत गरी रङरोगन गरेर सजाउने चलन छ। दिनभरि सुकाइएका आकृतिलाई साँझ दही–चिउरा खुवाउने र दाजुभाइको निधारमा लगाई आशीर्वाद तथा मंगलकामना व्यक्त गर्ने परम्परा छ । त्यसपछि दाजुभाइबाट सामा चकेवाका आकृति फुटाउन लगाई बाजागाजासहित नदी, पोखरी तथा अन्य जलाशयमा लगेर विसर्जन गरिन्छ । यही विधिसँगै पर्वको औपचारिक समापन हुन्छ ।
सामा चकेवा पर्व मिथिलाञ्चलका महिलाका लागि धार्मिक तथा सांस्कृतिक अनुष्ठान मात्र नभई माइतीसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने विशेष अवसर पनि हो । यस पर्वमा विवाहित छोरी तथा दिदीबहिनीहरू माइती पुगेर दाजुभाइसँगै पर्व मनाउने इच्छा राख्छन् । त्यसैले टाढाटाढा विवाह गरेर गएका चेलीबेटीसमेत सामा चकेवा खेल्न माइती फर्किने गर्छन्। परिवारका सदस्यबीच भेटघाट, आत्मीयता र सद्भाव बढाउने भएकाले यस पर्वलाई मिथिलाको सामाजिक जीवनमा विशेष महत्वका साथ लिइन्छ ।
दाजुभाइ वा दिदीबहिनी नभएकाहरूले समेत छिमेक तथा टोलका आफन्तसँग मिलेर यो पर्व मनाउने गरेका छन् । यसले पारिवारिक सम्बन्धभन्दा बाहिर पनि सामाजिक एकता र आपसी सद्भाव कायम गर्न सहयोग पुर्याउँदै आएको छ ।



























प्रतिक्रिया दिनुहोस् !