Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कमला-सरयु रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागतः धार्मिक पर्यटन र आर्थिक गतिविधि बढ्ने अपेक्षा

अयोध्याबाट ६०४ किलोमिटर दूरी तय गर्दै १९ घण्टाको यात्रापछि रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसन पुगेको हो । रेल आइपुग्नुअघि नै स्वागतका लागि स्थानीयवासीको ठूलो उपस्थिति थियो । रेल स्टेसनमा प्रवेश गरेसँगै ‘जय सियाराम’ को जयघोष सहित यात्रुहरूको स्वागत गरिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ८, २०८३
कमला-सरयु  रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागतः धार्मिक पर्यटन र आर्थिक गतिविधि बढ्ने अपेक्षा

जनकपुरधाम (धनुषा), ८ मंसिर । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई प्रत्यक्ष रेलमार्गले जोड्ने सेवा जनकपुरधाम आइपुगेको छ । भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामबीच सुरु भएको ‘सरयू–कमला एक्सप्रेस’ ले दुई देशका धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ । लामो समयदेखि प्रतीक्षामा रहेको यो रेल सेवाले दुवै धार्मिक सहरबीच तीर्थयात्रा र पर्यटन प्रवद्र्धनको नयाँ ढोका खोलेको छ ।

अयोध्याबाट ६०४ किलोमिटर दूरी तय गर्दै १९ घण्टाको यात्रापछि रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसन पुगेको हो । रेल आइपुग्नुअघि नै स्वागतका लागि स्थानीयवासीको ठूलो उपस्थिति थियो । रेल स्टेसनमा प्रवेश गरेसँगै ‘जय सियाराम’ को जयघोष सहित यात्रुहरूको स्वागत गरिएको थियो ।

भारतबाट आएका तीर्थयात्रीलाई सयपत्री फूलको माला लगाएर स्वागत गरिएको थियो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रम, रोजगार तथा युवा मन्त्री रामजी यादवले पनि यात्रुहरूलाई स्वागत गरे। नेपाल रेल्वे कम्पनीले स्वागत कार्यक्रमलाई व्यवस्थित बनाउन स्टेसन परिसरमा विशेष पण्डाल निर्माण गरेको थियो ।

‘हाम्रो माता सीताको जन्मभूमि मिथिलामा यहाँहरूलाई स्वागत छ’ भन्ने सन्देशसहितको ब्यानर राखिएको स्टेसन परिसरमा भजनकीर्तन, धार्मिक झाँकी तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । बटुकहरूले स्वस्तिवाचन गरी परम्परागत शैलीमा स्वागत गरेका थिए भने यात्रुहरूलाई खाजाको प्याकेटसमेत वितरण गरिएको थियो ।

रेलसँगै हवाई सम्पर्क र सीमा आवागमन सहज बनाउन माग
रेल सेवाको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले यसले मिथिलावासीको लामो समयदेखिको चाहना पूरा गरेको बताए । उनले यसका लागि नेपाल र भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै अब जनकपुरधाम र अयोध्याबीच हवाई सम्पर्कसमेत विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले दुवै देशका प्रधानमन्त्रीलाई जनकपुरधामदेखि अयोध्यासम्म हवाई सेवा सञ्चालनको सम्भावनामा ध्यान दिन आग्रह गरे । मुख्यमन्त्री यादवले धार्मिक पर्यटन प्रवद्र्धनका लागि रेल सेवा मात्र पर्याप्त नहुने भन्दै सडकमार्गबाट आउने भारतीय पर्यटकले सीमा क्षेत्रमा भन्सार प्रक्रियाका कारण भोग्नुपरेको कठिनाइ हटाउनुपर्ने बताए । भारतीय पर्यटक बोकेर आउने बसलाई २४ घण्टासम्म भन्सार छुट दिने व्यवस्था मिलाउन उनले नेपाल सरकारसँग माग गरे ।

नेपाल र भारतबीचको सम्बन्धलाई ‘बेटी–रोटी’ को सम्बन्धका रूपमा उल्लेख गर्दै उनले सीमावर्ती क्षेत्रका नागरिकलाई पारिवारिक तथा सामाजिक प्रयोजनका लागि आवतजावत गर्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । विवाहलगायत सामाजिक सम्बन्धका कारण सीमापारि जानुपर्ने नागरिकले अनावश्यक कठिनाइ भोग्न नपर्ने व्यवस्था दुवै देशले मिलाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा संघीय मन्त्री रामजी यादवले अयोध्या र जनकपुरधामबीचको सम्बन्धलाई धार्मिक आस्थामा मात्र सीमित गर्न नमिल्ने बताए । त्रेतायुगमा भगवान् राम जनकपुरधाम आएर माता सीतासँग विवाह गरेको धार्मिक मान्यताको स्मरण गर्दै उनले यी दुई सहरबीच पारिवारिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध रहेको उल्लेख गरे ।

उनका अनुसार राम जनकपुरका ज्वाइँ भएकाले अयोध्या र जनकपुरधामबीचको सम्बन्धलाई दुई सहरको सामान्य आवागमनभन्दा माथि उठेर हेर्नुपर्छ । रेल सेवाले नेपाल र भारतका नागरिकबीचको आत्मीयता तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उनले विश्वास व्यक्त गरे ।

जानकी मन्दिर दर्शनपछि तीर्थयात्री अयोध्या फर्किए
मंगलबार जनकपुरधाम आइपुगेको रेलमा करिब एक हजार भारतीय तीर्थयात्री सहभागी थिए। उनीहरूसँगै भारतीय रेल्वेका उच्च अधिकारी तथा सुरक्षाकर्मीसमेत आएका थिए । टोलीमा एडिसनल डिभिजनल रेल्वे म्यानेजर सन्नी सिन्हा, सिनियर डिभिजनल कमर्सियल म्यानेजर अमृतेश कुमार र डिभिजनल अपरेसन्स म्यानेजर अरविन्दु कुमारलगायत अधिकारी थिए ।

तीर्थयात्रीलाई जानकी मन्दिर दर्शन गराउन स्थानीय प्रशासनले एक दर्जनभन्दा बढी बसको व्यवस्था गरेको थियो। उनीहरूलाई मन्दिरसम्म पुर्‍याउनेदेखि पूजाआजा र दर्शन व्यवस्थापनसम्म विशेष प्रबन्ध मिलाइएको थियो । जानकी मन्दिर दर्शन सकेर रेल्वे स्टेसन फर्किएका यात्रुहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको थियो । भोजनपछि उनीहरू दिउँसो १ बजे सोही रेलमार्फत अयोध्या फर्किएका थिए ।

अर्को सातादेखि सातामा एकपटक नियमित सेवा सञ्चालनको तयारी
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले आगामी सातादेखि जनकपुरधाम र अयोध्याबीच नियमित रेल सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक योजनाअनुसार सातामा एकपटक रेल सञ्चालन हुनेछ ।

उनका अनुसार यो सेवा सञ्चालनमा आएपछि जनकपुरधाम भारतको धार्मिक पर्यटन सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिनेछ । अयोध्याबाट जनकपुरधाम आउने र यहाँबाट अयोध्या जाने यात्रुका लागि रेलमार्ग सहज विकल्प बन्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए । उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल विभिन्न भारतीय सहर हुँदै मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो ।
६०४ किलोमिटरको यात्राका क्रममा रेल उत्तर प्रदेश र बिहारका विभिन्न स्थान हुँदै नेपाल प्रवेश गरेको थियो । मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसन हुँदै रेल जनकपुरधाम पुगेको थियो । १७ वटा डिब्बा रहेको रेलमा स्लिपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् ।

पर्यटक ल्याउने मात्र होइन, बसाइ लम्ब्याउनु मुख्य चुनौती
अयोध्या–जनकपुरधाम रेल सेवाले धार्मिक पर्यटनको सम्भावना बढाए पनि यसको वास्तविक आर्थिक लाभ स्थानीय समुदायसम्म पुर्‍याउनु चुनौतीपूर्ण देखिएको छ । भारतबाट आउने तीर्थयात्रीलाई जानकी मन्दिर दर्शन गराएर केही घण्टामै फर्काउनेभन्दा जनकपुरधाम र आसपासका पर्यटकीय स्थलमा घुम्ने वातावरण बनाउनुपर्ने स्थानीय व्यवसायीहरूको सुझाव छ ।

जनकपुरधाम–४ का व्यवसायी रामदुलार मण्डलका अनुसार पर्यटकलाई धनुषाधाम, जलेश्वर, मिथिला चित्रकलाका गाउँ, ऐतिहासिक पोखरी तथा ग्रामीण मिथिला जीवनशैलीसँग परिचित गराउन सके उनीहरूको बसाइ अवधि बढाउन सकिन्छ । यसले होटल, यातायात, रेस्टुरेन्ट, हस्तकला तथा स्थानीय व्यापारमा प्रत्यक्ष लाभ पुर्‍याउने उनको भनाइ छ ।

उनले पर्यटकलाई आकर्षित गर्न होटल तथा अतिथि सत्कार सेवाको गुणस्तर सुधार, सरसफाइ, यातायात व्यवस्थापन, बहुभाषिक सूचना प्रणाली र सुरक्षा व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै, अयोध्या र जनकपुरधामलाई रामायण सर्किटसँग जोडेर संयुक्त पर्यटन प्याकेज सञ्चालन गर्न सके भारतीय तथा अन्य विदेशी पर्यटकलाई जनकपुरधामसम्म ल्याउन थप सहज हुने देखिन्छ । यसका लागि नेपाल र भारतका पर्यटन निकाय, रेल्वे कम्पनी, स्थानीय सरकार तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक छ ।

पूर्वशिक्षक रामसेवक महतोले रेल सेवालाई दीर्घकालीन रूपमा सफल बनाउन पर्यटनसँग सम्बन्धित सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । उनका अनुसार यात्रुको आवागमन बढ्नुका साथै स्थानीय व्यापार र रोजगारीका अवसर सिर्जना गर्न यो सेवा महत्वपूर्ण माध्यम बन्न सक्छ ।

रामायण सर्किटसँग जोडिए जनकपुरधामको पर्यटनले गति लिने
अयोध्या र जनकपुरधामबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनुले धार्मिक पर्यटनको क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको छ । रामायणकालीन धार्मिक मान्यता र सांस्कृतिक इतिहाससँग जोडिएका यी दुई सहर अब यातायातका हिसाबले पनि नजिकिएका छन् ।

अयोध्यामा राम मन्दिर निर्माणपछि त्यहाँ पुग्ने भारतीय तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको सन्दर्भमा जनकपुरधामलाई पनि उनीहरूको धार्मिक यात्राको महत्वपूर्ण गन्तव्य बनाउन सकिने सम्भावना छ । माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधाममा रहेका जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, धनुषसागर र गंगासागरसहितका धार्मिक तथा ऐतिहासिक स्थललाई अयोध्या यात्रासँग जोड्न सकिन्छ ।

यसका लागि व्यवस्थित पर्यटन प्याकेज, स्थानीय गाइड, गुणस्तरीय होटल तथा यातायात सेवा र पर्यटकीय पूर्वाधारको विकास आवश्यक हुनेछ । मिथिला चित्रकला, स्थानीय खानपान, संस्कृति र ग्रामीण जीवनशैलीलाई समेत पर्यटनसँग जोड्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिनेछ । रेल सेवा नियमित भएपछि तीर्थयात्रीको आवागमन मात्र नभई होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा अन्य स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्धले जोडिएका अयोध्या र जनकपुरधामबीचको रेल सम्पर्कलाई केवल यातायात सुविधाका रूपमा मात्र नहेरी आर्थिक तथा पर्यटन विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने देखिन्छ । त्यसका लागि सेवा नियमित र भरपर्दो बनाउनुका साथै जनकपुरधामलाई पर्यटकको गन्तव्यका रूपमा विकास गर्न स्थानीय तहदेखि संघीय सरकारसम्मको सक्रियता आवश्यक हुनेछ ।

Tags: अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू-कमला एक्सप्रेस’
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

मंसिर ९, २०८३
भंगहामा थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन

भंगहामा थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन

मंसिर ९, २०८३
चन्द्रनगर गाउँपालिकाले मदरसाकालागि स्वयंसेवक शिक्षक माग्यो

चन्द्रनगर गाउँपालिकाले मदरसाकालागि स्वयंसेवक शिक्षक माग्यो

मंसिर ९, २०८३
प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

मंसिर ९, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि