जनकपुरधाम (धनुषा), ९ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका पेशागत हकहित सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले सामूहिक गिरफ्तारी आन्दोलन गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार आयोजित आन्दोलनमा सहभागी पत्रकारहरूले विभिन्न माग तथा सरोकारका विषय उठाउँदै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
महासंघ धनुषा शाखाको भवनबाट सुरु भएको आन्दोलन जिल्ला प्रहरी कार्यालय धनुषा हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर सम्पन्न भएको थियो । आन्दोलनका क्रममा पत्रकारहरूले आफ्ना माग र सरोकार समेटिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लुइँटेलले महासंघले उठाएका माग तथा विषयप्रति गम्भीर रहेको बताए ।
उनले पत्रकारहरूको माग र सन्देश तत्काल सम्बन्धित सरोकारवाला निकायसम्म पुर्याउने प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारिताको स्वतन्त्रता, पेशागत मर्यादा र पत्रकारका अधिकारको संरक्षणका लागि सामूहिक एकता तथा संस्थागत पहल आवश्यक रहेको बताए । उनले आन्दोलनमार्फत उठाइएका मागको सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्ला शाखाहरूमा एकैसाथ सञ्चालन गरिएको आन्दोलनमार्फत पत्रकारहरूको पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र पत्रकारितासँग सम्बन्धित समस्याको समाधानका लागि सरकार तथा सम्बन्धित निकायलाई दबाब दिने उद्देश्य राखिएको छ ।



























प्रतिक्रिया दिनुहोस् !