वीरगंज (पर्सा), १६ कात्तिक । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित पकडीटोलमा काठ बरामद गर्न पुगेको सुरक्षाकर्मी तथा वन कर्मचारीको संयुक्त टोली र उद्योग सञ्चालक पक्षबीच झडप भएको छ । चिरान तथा फर्निचर उद्योगबाट झ्यालका ८ थान काठ नियन्त्रणमा लिन खोज्दा सुरु भएको विवादले उग्र रूप लिएपछि भएको झडपमा केही प्रहरी र वन समूहका हेरालु सामान्य घाइते भएका छन् ।
सशस्त्र प्रहरी बलको बीओपी जिराभवानी, प्रहरी चौकी महादेवपट्टी बलुवा, सबडिभिजन वन कार्यालय सेढवा र गादीमाई साझेदारी वन व्यवस्थापन समूहका प्रतिनिधि सम्मिलित संयुक्त टोली मुकेश साहले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा काठ बरामद गर्न पुगेको थियो । उद्योगमा रहेका झ्यालका ८ थान काठ नियन्त्रणमा लिन खोजेपछि उद्योग सञ्चालक पक्षले आपत्ति जनाएको थियो ।
काठको स्रोत र वैधानिकताबारे विवाद चर्किँदै जाँदा दुवै पक्षबीच हात हालाहाल भएको बताइएको छ । गादीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष सहुरम राउत गदीले झडपमा केही प्रहरी तथा वन समूहका हेरालु घाइते भएको जानकारी दिएका छन् । तर उद्योग सञ्चालक मुकेश साहका भाइ जाटाशंकर साहले भने संयुक्त टोलीको कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । उनका अनुसार उद्योगबाट बरामद गर्न खोजिएका काठ भैरहवा–बुटवल क्षेत्रबाट खरिद गरी ल्याइएका हुन् ।
खरिदसँग सम्बन्धित आवश्यक कानुनी कागजातसमेत आफूसँग सुरक्षित रहेको उनको दाबी छ । साहले टोलीले काठको वैधानिकता जाँच गर्न आवश्यक कागजात माग्नुपर्नेमा त्यसो नगरी एकाएक नियन्त्रणमा लिन खोजेपछि विवाद उत्पन्न भएको बताए । बरामद गरिएका ८ थान झ्यालका काठसमेत बिक्रीका लागि नभई आफ्नै घरमा प्रयोग गर्ने उद्देश्यले तयार गरिएको उनको भनाइ छ ।
यता, संयुक्त टोलीले उद्योगबाट ८ थान झ्यालका काठ नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । काठको स्रोत, वैधानिकता तथा झडपको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठको वैधानिकता जाँच गर्ने क्रममा सुरु भएको विवादले सुरक्षाकर्मी र स्थानीय पक्षबीचै झडपको रूप लिएपछि घटनाले वन संरक्षण तथा अनुगमनका क्रममा अपनाइने कार्यशैलीमाथि समेत प्रश्न उठाएको छ ।




























प्रतिक्रिया दिनुहोस् !