वीरगंज (पर्सा), १६ कात्तिक । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर जीवनमरणको दोसाँधमा पुगेका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । अत्यन्तै गम्भीर अवस्थामा वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्याइएका आदित्यलाई तत्काल गरिएको जटिल शल्यक्रिया र सघन उपचारले नयाँ जीवन दिएको छ । अहिले उनी भेन्टिलेटरको सहायताबिना सास फेर्न थालेका छन् भने होसमा आएर मुखबाट खाना खानसमेत थालेका छन् ।
अस्पतालले उपलब्ध गराएको पछिल्लो स्वास्थ्य विवरणअनुसार आदित्यको स्वास्थ्यमा सुधार आएपछि थप विशेषज्ञ उपचारका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको जीवनरक्षाका लागि नेशनल मेडिकल कलेजले आकस्मिक उपचारदेखि जटिल शल्यक्रिया, आईसीयू सेवा र औषधिसहित सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको थियो ।
गत कात्तिक १४ गते बिहान करिब १०ः३० बजे प्रहरीको गोली लागेर गम्भीर घाइते भएका आदित्यलाई करिब एक घण्टापछि नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याइएको थियो । अस्पताल आइपुग्दा अत्यधिक रक्तस्रावका कारण उनी रक्तस्रावजन्य आघात (हाइपोभोलिमिक शक) मा थिए । रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै नाडीसमेत कमजोर भइसकेको थियो ।
गोलीले पेटभित्रका आन्द्रामा गम्भीर क्षति पुर्याएको थियो भने आन्द्राका केही भाग पेटको घाउबाट बाहिर निस्किएका थिए । तत्काल शल्यक्रिया नगरिए उनको ज्यान जाने जोखिम उच्च थियो । यस्तो संवेदनशील अवस्थामा अस्पतालको विशेषज्ञ टोलीले ढिलाइ नगरी उपचार प्रक्रिया अघि बढाएको थियो ।
जटिल शल्यक्रियाबाट बचाइयो ज्यान
पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाह सम्मिलित चिकित्सकीय टोलीले आकस्मिक शल्यक्रिया गरेको थियो ।
शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग काटेर हटाउने, बाँकी आन्द्रालाई पुनः जोड्ने, आन्द्रामा गोलीका कारण बनेका प्वालहरू मर्मत गर्ने तथा मल निष्कासनका लागि वैकल्पिक मार्ग निर्माण गर्ने जटिल प्रक्रिया पूरा गरिएको थियो । साथै, दाहिने नितम्बको भागमा लागेको गोलीसमेत निकालिएको अस्पतालले जनाएको छ ।
शल्यक्रिया सफल भएपनि आदित्यको अवस्था तत्काल जोखिममुक्त हुन सकेन । त्यसपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर निरन्तर उपचार र निगरानीमा राखिएको थियो ।
भेन्टिलेटर र शक्तिशाली औषधिको सहारामा जीवनरक्षा
आईसीयू इन्चार्ज डा. निरज क्याल तथा एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा आदित्यको उपचार जारी राखिएको थियो । शल्यक्रियापछिको रात उनको स्वास्थ्य अवस्था झन् जटिल बनेको थियो ।
रक्तचाप र रक्तसञ्चार सामान्य अवस्थामा राख्न तीन प्रकारका शक्तिशाली औषधि प्रयोग गर्नुपरेको थियो । उनलाई कृत्रिम श्वासप्रश्वास प्रणाली (भेन्टिलेटर) मा राख्नुका साथै चार युनिट रगत र दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा (एफएफपी) समेत चढाइएको थियो ।
विशेषज्ञ चिकित्सक, नर्स तथा प्राविधिक कर्मचारीको निरन्तर निगरानी र उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको थियो । नोभेम्बर २ सम्मको जानकारीअनुसार आदित्य भेन्टिलेटरबाट मुक्त भएका छन् । उनी होसमा आएका छन् र आफैँ सास फेर्नुका साथै मुखबाट खाना खान सक्ने अवस्थामा पुगेका छन् ।
काठमाडौं लैजान अस्पताल प्रशासनको समन्वय
आदित्यको अवस्था गम्भीर रहेकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौं लैजानुपर्ने चिकित्सकीय निष्कर्षपछि अस्पताल प्रशासनले आवश्यक समन्वय थालेको थियो ।
नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी उनलाई सुरक्षित रूपमा काठमाडौं पुर्याउने व्यवस्था मिलाइएको थियो । स्थानान्तरणअघि परिवारका सदस्यलाई उनको स्वास्थ्य अवस्था र हवाई यात्राका क्रममा हुन सक्ने जोखिमबारे चिकित्सकीय परामर्शसमेत दिइएको थियो ।
परिवारको अनुरोधमा कात्तिक १५ गते बिहान ११ः३९ बजे नेपाली सेनाको हेलिकप्टरबाट आदित्यलाई थप उपचारका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं लगिएको थियो । हाल उनी सोही अस्पतालमा उपचाररत छन् ।
परिवारलाई आर्थिक भार नपर्ने गरी सम्पूर्ण उपचार निःशुल्क
जीवनरक्षाका लागि अत्यन्त महँगो र जटिल उपचार आवश्यक परेको अवस्थामा नेशनल मेडिकल कलेजले आदित्यको सम्पूर्ण उपचार खर्च आफैँ व्यहोरेको थियो । आकस्मिक उपचार, शल्यक्रिया, आईसीयू सेवा, औषधि, रगत तथा प्लाज्मा व्यवस्थापन, प्रयोगशाला परीक्षणलगायतका कुनै पनि सेवाबापत परिवारसँग शुल्क नलिइएको अस्पतालले जनाएको छ ।
आर्थिक अभावका कारण उपचारमा कुनै बाधा नआओस् भन्ने उद्देश्यले अस्पताल प्रशासनले मानवीय र सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको जनाएको छ । आदित्यको स्वास्थ्यमा आएको सुधारले गम्भीर अवस्थामा रहेका बिरामीको जीवनरक्षाका लागि समयमै उपलब्ध विशेषज्ञ उपचार, अत्याधुनिक स्वास्थ्य सुविधा र प्रभावकारी समन्वयको महत्वलाई पुनः पुष्टि गरेको छ ।
मधेश प्रदेशका विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई समेत सेवा दिँदै आएको नेशनल मेडिकल कलेजले यस घटनामा आकस्मिक उपचार, जटिल शल्यक्रिया, सघन उपचार र उच्च जोखिमयुक्त स्थानान्तरणको व्यवस्थापनसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।




























प्रतिक्रिया दिनुहोस् !