जनकपुरधाम (धनुषा), १३ कात्तिक । धनुषा र सिरहालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुलको पुनर्निर्माणले गति लिन थालेपछि वर्षौँदेखि आवागमनको समस्या झेल्दै आएका स्थानीयमा आशा पलाएको छ । निर्माणको अन्तिम चरणमा पुगेर बाढीका कारण क्षति भएको पुलको काम अघि बढेपछि यसपटक सञ्चालनमा आउने अपेक्षा बढेको हो ।
करिब १५ वर्षअघि निर्माण सुरु भएको कमला पुल लामो समयसम्म सम्पन्न हुन सकेको थिएन । निर्माण अन्तिम चरणमा पुगेका बेला करिब चार वर्षअघि आएको बाढीले पुलको एक भाग भासिएपछि निर्माण कार्य अन्योलमा परेको थियो । त्यसयता पुल सञ्चालनमा नआउँदा धनुषा र सिरहाका हजारौँ सर्वसाधारण प्रभावित हुँदै आएका छन् ।
अलपत्र तथा अधुरा आयोजना सम्पन्न गर्न सरकारले ताकेता बढाएपछि पछिल्लो समय पुल पुनर्निर्माणको कामले गति लिएको हो । भासिएको संरचना हटाएर नयाँ संरचना निर्माण गर्ने र पुललाई सुरक्षित रूपमा सञ्चालन गर्न सकिने बनाउने काम भइरहेको छ ।
कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवका अनुसार भासिएको स्थानमा नयाँ पिलर निर्माण भइरहेको छ । पुलको भार थेग्न आवश्यकताअनुसार थप पिलर राखेर संरचना बलियो बनाउने काम पनि भइरहेको उनले बताए । क्षतिग्रस्त भागको पुनः ढलान गर्ने काम अघि बढेकाले यसपटक पुल निर्माण पूरा हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।
पुल सञ्चालनमा आए जनकपुरधामबाट सिरहा, सप्तरीलगायत हुलाकी राजमार्ग आसपासका क्षेत्रसम्मको यात्रा सहज हुनेछ । अहिले लामो दूरी घुमेर पुग्नुपर्ने बाध्यता हट्नुका साथै धनुषा र सिरहाबीचको दूरीसमेत छोटिनेछ । पुल नहुँदा स्थानीयले वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । नदी वारपार गर्न कतिपयले बाँसबाट बनाइएको अस्थायी लच्का र डुङ्गाको सहारा लिनुपर्ने अवस्था छ । वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवतजावत झनै जोखिमपूर्ण बन्ने गरेको छ ।
सवारीसाधनबाट नदी पार गर्न नसकिने भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग हुँदै लामो दूरी तय गर्नुपर्ने वा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसबाट दैनिक आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, बिरामी, व्यापारी तथा यात्रुले अतिरिक्त समय र खर्च बेहोर्नुपरेको छ । पुल निर्माणमा भइरहेको ढिलाइविरुद्ध स्थानीयले पटकपटक दबाबमूलक आन्दोलनसमेत गर्दै आएका छन् । जनकपुरधामलाई सिरहा र सप्तरीसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण पूर्वाधार भएकाले निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्ने उनीहरूको माग रहँदै आएको छ ।
पुल निर्माणको विषयमा स्थानीयले मधेश प्रदेश सरकारको समेत ध्यानाकर्षण गराउँदै आएका थिए । तर, हुलाकी राजमार्ग संघीय सरकार मातहतको आयोजना भएकाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रदेश सरकारले प्रत्यक्ष रूपमा निर्माण अघि बढाउन नसक्ने जनाएको थियो ।कमला नदीमा पुल नहुँदा दुई जिल्लाबीचको यातायात सम्पर्क मात्र नभई सामाजिक, आर्थिक तथा व्यावसायिक गतिविधिमा समेत असर परेको छ ।
पुल सञ्चालनमा आए बजार, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा अन्य सेवा केन्द्रसम्म पुग्न दुवै जिल्लाका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको छ । पुनर्निर्माणले गति लिए पनि स्थानीयको प्रतीक्षा भने पुल कहिले सम्पन्न भएर सर्वसाधारणका लागि खुला हुन्छ भन्नेमा छ । विगतमा पटकपटक निर्माणमा अवरोध र ढिलाइ भोगेका स्थानीय यसपटक भने कामले निरन्तरता पाउने र लामो समयदेखिको सास्ती अन्त्य हुने आशामा छन् ।

























प्रतिक्रिया दिनुहोस् !