कलैया (बारा), १३ कात्तिक । बारामा जोगीको भेषमा गाँजाजस्तो देखिने पदार्थ ओसारपसार गरिरहेको अवस्थामा एक भारतीय नागरिकसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथ र घरबाट गरी कुल ९ किलो २०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोष्ट इनर्वासिराबाट खटिएको संयुक्त टोलीले गस्तीका क्रममा प्रसौनी गाउँपालिका–६ प्रस्टोकामा भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी, आदापुर थाना काण्डा वडा नम्बर ४ का ६५ वर्षीय शम्भु सहनीलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
जोगीको भेषमा हिँडिरहेका सहनीलाई जाँच गर्दा उनको साथबाट ५०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा उनले उक्त पदार्थ प्रसौनी गाउँपालिका–७ बलुवा टोलका ४५ वर्षीय अच्छेलाल सहनीको घरबाट खरिद गरेको बताएपछि प्रहरीले त्यहाँ खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा अच्छेलालको घरबाट थप ८ किलो ७०० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसरी दुवै स्थानबाट बरामद पदार्थको कुल तौल ९ किलो २०० ग्राम पुगेको छ ।
प्रहरीले भारतीय नागरिक शम्भु र अच्छेलाल दुवैलाई पक्राउ गरी लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । उनीहरूलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

























प्रतिक्रिया दिनुहोस् !