वीरगंज (पर्सा), १३ कात्तिक । वीरगंज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट निस्कने फोहोर पानीले सिर्सिया नदी प्रदूषित बनाएको गुनासो बढेपछि उद्योग विभागले देशभरका उद्योगलाई प्रशोधन नगरेको वा वातावरणीय मापदण्डविपरीतको पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न निर्देशन दिएको छ ।
विशेषगरी सिर्सिया नदी आसपासका उद्योगबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासीलाई छठ पर्व मनाउनसमेत समस्या हुने गरेको गुनासो विभागसम्म पुगेको थियो । विभिन्न माध्यमबाट नदी तथा खोलामा औद्योगिक फोहोर पानी मिसाइएको भन्दै उजुरी प्राप्त भएपछि विभागले यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
विभागले उद्योगहरूलाई आफ्नो उत्पादन प्रक्रियाबाट निस्कने फोहोर पानी नेपाल सरकारले तोकेको वातावरणीय मापदण्डअनुसार प्रशोधन गरेर मात्र बाहिर पठाउन निर्देशन दिएको छ । छठ पर्वका बेला नदीको स्वच्छता कायम राख्न विशेष सतर्कता अपनाउन पनि उद्योगहरूलाई आग्रह गरिएको छ । त्यस्तै, चाडपर्वको समयमा नदी सफा राख्ने प्रयासमा सहयोग पुर्याउन उद्योगहरूले डिप बोरिङ वा अन्य स्रोतबाट स्वच्छ पानी उपलब्ध गराउन विभागले अनुरोध गरेको छ ।
निर्देशन कार्यान्वयन भए–नभएकोबारे सम्बन्धित निकायहरूको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण गर्ने विभागले जनाएको छ । अनुगमनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेशका सम्बन्धित निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला संस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।
प्रचलित वातावरणीय कानुन र मापदण्डको पालना गर्दै औद्योगिक फोहोर पानीको उचित व्यवस्थापन गर्न विभागले उद्योगहरूलाई सचेत गराएको छ । नदी प्रदूषण नियन्त्रण र वातावरण संरक्षणलाई साझा जिम्मेवारीका रूपमा लिन पनि विभागले सबै उद्योगलाई आग्रह गरेको छ ।

























प्रतिक्रिया दिनुहोस् !