जनकपुरधाम (धनुषा), १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले प्रहरीले छोरीको विवाह छुटाउन सहयोग नगरेको भन्दै सार्वजनिक कार्यक्रममै जिल्ला प्रहरी प्रमुखमाथि आक्रोश पोखेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–४, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले एक कार्यक्रममा भाषण गर्ने क्रममा विभिन्न सरकारी निकाय, जिल्ला प्रहरी कार्यालय धनुषा तथा एसपी खड्कालाई लक्षित गरी आपत्तिजनक, कपोलकल्पित, भ्रामक, अपमानजनक र तथ्यहीन टिप्पणी गरेका थिए ।
प्रहरीका अनुसार सभापति यादवले आफ्नो एक पारिवारिक महिला सदस्य हराएको भन्दै २०८३ असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । हराएको भनिएकी एक महिलाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषामाथि लगाइएका आरोपको प्रहरीले खण्डन गरेको छ । महिलाको खोजतलासका क्रममा गरिएको अनुसन्धानबाट उनी हराएको नभई काठमाडौं जिल्ला अदालतबाटै विवाहको नाता कायम गरिसकेको र पछि आफ्नो पतिसँगै गएको खुलेको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हंसपुर नगरपालिका–८, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले एक कार्यक्रममा भाषण गर्ने क्रममा विभिन्न सरकारी निकाय, जिल्ला प्रहरी कार्यालय धनुषा तथा कार्यालय प्रमुखलाई लक्षित गरी आपत्तिजनक, कपोलकल्पित, भ्रामक, अपमानजनक र तथ्यहीन टिप्पणी गरेका थिए ।
प्रहरीका अनुसार यादवले एक महिला हराएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए । सोही विषयमा बुझ्ने क्रममा ती महिला हराएकी नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम गरिसकेको र २०८३ भदौ १४ गते आफ्ना पतिसँगै गएको तथ्य फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले महिलासँग सम्बन्धित निवेदक तथा परिवारका अन्य सदस्यसँग प्रत्यक्ष कुराकानी गर्नुका साथै विवाहसम्बन्धी प्रमाणहरू समेत हेरेर वास्तविक अवस्था जानकारी गराइएको जनाएको छ । विज्ञप्तिमा यादवले आफ्नो पदको दुरुपयोग गर्दै अनुचित दबाब दिएको र हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत दिएको आरोप लगाइएको छ । प्रहरीले यस्तो गतिविधिलाई गैरकानुनी कार्य गर्न इन्कार गरेपछि प्रतिशोधका आधारमा प्रहरीमाथि आधारहीन आरोप लगाइएको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले प्रहरी संगठनले पूर्ण व्यावसायिकता, इमानदारी र निष्ठाका साथ नागरिकको सेवामा काम गरिरहेको उल्लेख गर्दै व्यक्तिगत मर्यादामा आँच आउने गरी लगाइएका आरोपप्रति आपत्ति जनाएका छन् । साथै, विज्ञप्तिमा आरोपहरूको पुष्टि गर्न चुनौती दिँदै भ्रममा नपर्न र अवाञ्छित विषयवस्तु सामाजिक सञ्जालमा जथाभावी प्रसार नगर्न आग्रह गरिएको छ । प्रहरीले यस विषयमा प्रचलित कानुनबमोजिम उपचार खोज्ने जानकारीसमेत दिएको छ ।

























प्रतिक्रिया दिनुहोस् !