वीरगंज (पर्सा), १० कात्तिक । पर्साको राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ रातिको समयमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय एकटाङ्गा र प्रहरी चौकी मनवाको संयुक्त टोलीले पर्सागढी नगरपालिका–२, गोडपसराबाट सात थान सालको गोलिया काठसहित पिकअप चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार छतिवनटाडी र बढनियारस्थित राष्ट्रिय वन क्षेत्रबाट सालका रूख कटान गरी गोलिया बनाइएको काठ राति करिब २ बजे फर्निचर उद्योगतर्फ लैजाने क्रममा बरामद गरिएको हो । अवैध काठ ओसारपसारमा प्रयोग भएको ना. ५ त १२५४ नम्बरको पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा पर्सागढी नगरपालिका–२, छतिवनटाडी निवासी पिकअप चालक केदार चौधरी पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीमा इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक मनोज यादव र प्रहरी चौकी मनवाका प्रहरी सहायक निरीक्षक ऋषीराज भट्टराई सहभागी थिए ।
पक्राउ परेका चौधरी, बरामद काठ र पिकअप गाडीलाई इलाका प्रहरी कार्यालय एकटाङ्गामा राखिएको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि उनीहरूलाई डिभिजन वन कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस् !