वीरगंज (पर्सा), १० कात्तिक । आयात–निर्यात प्रक्रियालाई छिटोछरितो र प्रभावकारी बनाउने तथा मालवाहक रेल र सवारीसाधनको आवागमन व्यवस्थित गर्ने उद्देश्यसहित प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले वीरगंजस्थित सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी (आईसीपी) को स्थलगत अनुगमन गरेको छ ।
समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले मंगलबार गरेको अनुगमनका क्रममा बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था, रेल सञ्चालन तथा आयात–निर्यात प्रक्रियाबारे जानकारी लिएका हुन् ।
अनुगमनका क्रममा बन्दरगाह सञ्चालक कम्पनीका प्रतिनिधिहरूले प्रवेशद्वार २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । प्रवेशद्वारको सञ्चालन समयलाई प्रभावकारी बनाउँदा मालसामानको आवागमन सहज हुने भन्दै उनीहरूले आवश्यक व्यवस्थाका लागि ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभापति गजुरेलले यस विषयमा सहजीकरण गर्न भन्सार विभागका महानिर्देशकलाई अनुरोध गरेका छन् ।
वीरगंज सुक्खा बन्दरगाहमा मासिक औसत ११० वटा मालवाहक रेल आउने गरेका छन् भने आईसीपीबाट दैनिक करिब ८०० मालवाहक सवारीसाधन आवतजावत गर्छन् । आयात–निर्यातको ठूलो चाप रहने यी दुई पूर्वाधारको सञ्चालनलाई थप व्यवस्थित बनाउनु व्यापार सहजीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
सभापति गजुरेलले उपलब्ध रेल पूर्वाधारको अधिकतम उपयोग गर्दै मालसामान ढुवानीलाई छरितो र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । विशेषगरी रासायनिक मल आयातका क्रममा पूरा गर्नुपर्ने भन्सार प्रक्रियालाई सहज, व्यवस्थित र कम झन्झटिलो बनाउनुपर्नेमा उनले जोड दिएका हुन् ।
अनुगमनका क्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेललाई अन्य पूर्वाधार क्षेत्रमा समेत विस्तार गर्ने विषयमा छलफल भएको थियो । सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउन सके बन्दरगाहको व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन सकिने सभापति गजुरेलको भनाइ थियो ।
सुक्खा बन्दरगाह र आईसीपीको सञ्चालन व्यवस्थामा सुधार, प्रवेशद्वारको समय विस्तार तथा रेल पूर्वाधारको प्रभावकारी उपयोगले आयात–निर्यातमा हुने ढिलाइ घटाउन र व्यापार सहजीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

























प्रतिक्रिया दिनुहोस् !