जनकपुरधाम (धनुषा), ९ कात्तिक । धनुषामा पारिवारिक विवादले भयावह रूप लिँदा एक दम्पतीको ज्यान गएको छ । श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि केही समयपछि मृत अवस्थामा फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटना मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरस्थित माइतीघरमा भएको हो । मिथिला बिहारी नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले आफ्नी ३० वर्षीया श्रीमती रीनादेवी यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
श्रीमतीको हत्या गरेपछि उमेश घरबाट निस्किएका थिए। पछि उनी ससुराली घरबाट करिब एक किलोमिटर टाढा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएपछि बढेको थियो विवाद
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उमेश केही महिनाअघि वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । त्यसपछि दम्पतीबीच निरन्तर विवाद हुँदै आएको थियो । यही विवादका कारण रीनादेवी करिब डेढ महिनाअघि चार वर्षीय छोरालाई साथमा लिएर माइतीमा बस्दै आएकी थिइन् ।
शनिबार साँझ उमेश ससुराली पुगेका थिए । मध्यरातमा श्रीमान् श्रीमतीबीच पुनः विवाद चर्किएपछि उमेशले रीनादेवीमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
चार वर्षीय छोरा पनि घाइते
आमामाथि भएको आक्रमणका क्रममा उनीहरूका चार वर्षीय छोरा पनि धारिलो हतियारबाट घाइते भएका छन् । बालकको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि प्रहरीले दुवै मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ । एकै घटनामा दम्पतीको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ भने चार वर्षीय बालक घाइते भएका छन् । घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

























प्रतिक्रिया दिनुहोस् !