वीरगंज (पर्सा), २४ असोज । नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका दुई छोरा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । पर्सा जिल्ला अदालतले नसिर अहम्मद मन्सुरी र जाफिर अहम्मदलाई मुद्दाको अन्तिम फैसला नआएसम्म थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले शुक्रबार दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्लका अनुसार अदालतको आदेशलगत्तै उनीहरूलाई कारागार पठाइएको हो ।
जगरनाथपुर गाउँपालिका–५ निवासी नसिर र जाफिरमाथि जाफिरकी अविवाहित सालीको हत्या घटनामा संलग्न रहेको आरोप छ । २०७८ असोज २१ गते वीरगंज महानगरपालिका–१३ मुर्लीस्थित कब्रिस्तानमा प्रहरीलाई जानकारी नदिई युवतीको शव गाड्न खोजिएको घटनामा उनीहरू पक्राउ परेका थिए । शव गाड्ने कार्यमा नसिर, जाफिरसहित अन्य व्यक्तिहरूको संलग्नता रहेको आरोप लागेको थियो ।
प्रहरीको अनुसन्धानअनुसार ती युवतीमाथि जबरजस्ती करणी भएको र अत्यधिक रक्तश्रावका कारण उनको अवस्था गम्भीर बनेको थियो । गाउँकै एक क्लिनिकमा उपचार गराउने क्रममा युवतीको मृत्यु भएपछि शव वीरगंज ल्याएर गोप्य रूपमा गाड्न खोजिएको आरोप छ । घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले करिब पाँच वर्षपछि नसिर र जाफिरलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको थियो । घटनामा राजनीतिक पहुँचका कारण लामो समयसम्म अनुसन्धान प्रभावकारी रूपमा अघि नबढाइएको आरोपसमेत लाग्दै आएको थियो ।
यस घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिहरू अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतबाट दोषी ठहर नभएसम्म आरोपितलाई निर्दोष मानिने कानुनी व्यवस्था छ । 


















प्रतिक्रिया दिनुहोस् !