वीरगंज (पर्सा), २२ असोज । नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्वनगर प्रमुख विजयकुमार सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएको विवरण सार्वजनिक भएको छ । प्राप्त सदस्यता विवरणअनुसार सरावगीले बिहीबार नै अनलाइन माध्यमबाट रास्वपाको सदस्यता प्रक्रिया पूरा गरेका हुन् । सार्वजनिक विवरणमा उनको नामसहित पार्टीको सदस्य आईडी PRS1ख000435776 उल्लेख गरिएको छ ।
उक्त सदस्यता विवरणमा सदस्यता ‘centeroffice1’ बाट प्रमाणीकरण गरिएको देखिन्छ । यसले सरावगीले रास्वपाको औपचारिक सदस्यता प्रक्रिया पूरा गरेको देखाएको छ । एमालेको केन्द्रीय सदस्यमा निर्वाचित सरावगी रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको चर्चा यसअघि नै चल्दै आएको थियो । त्यहीबीच उनको नाममा रास्वपाको सदस्यता विवरण सार्वजनिक भएपछि उनको राजनीतिक यात्रालाई लिएर नयाँ बहस सुरु भएको छ ।
सरावगी वीरगंज महानगरपालिकाका पूर्वनगर प्रमुख हुन् । उनी पछिल्लो समय नेकपा एमालेको केन्द्रीय नेतृत्वमा समेत रहेका थिए । एमालेको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएको केही समयमै रास्वपाको सदस्यता लिएको विवरण सार्वजनिक हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, सरावगीले एमाले छाडेको वा रास्वपामा औपचारिक रूपमा प्रवेश गरेको सम्बन्धमा उनको व्यक्तिगत धारणा वा पार्टीगत घोषणा भने यस विवरणसँगै सार्वजनिक भएको छैन । सदस्यता विवरणमा भने उनको नाम, सदस्य आईडी र प्रमाणीकरणसम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख छ । 


















प्रतिक्रिया दिनुहोस् !