वीरगंज (पर्सा), २१ असोज । मधेश विश्वविद्यालयले चालु शैक्षिकसत्र २०८३ देखि थप तीनवटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । वीरगंजस्थित विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए)’ तथा स्नातक तहमा ‘एलएलबी र बीबीए’ को पठनपाठन सुरु गरेको हो ।
यसअघि विश्वविद्यालयमा स्नातकोत्तर तहको ‘एमपीए’, कानुनतर्फ ‘बीए एलएलबी’ तथा जनप्रशासनतर्फ ‘बीपीएम’ कार्यक्रम सञ्चालन हुँदै आएका थिए । नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालयको शैक्षिक दायरा थप फराकिलो भएको छ । विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार नयाँ थपिएका तीनवटै कार्यक्रम सञ्चालनको प्रक्रिया अघि बढिसकेको छ । एलएलबीको कक्षा सञ्चालन भइसकेको छ भने बीबीएको कक्षा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
यादवका अनुसार एमपीएको दोस्रो ब्याचका लागि समेत भर्ना प्रक्रिया खुला गरिएको छ । भर्ना प्रक्रिया पूरा भएपछि कक्षा सञ्चालन गरिनेछ । विश्वविद्यालयमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमप्रति विद्यार्थीको आकर्षण बढ्दै गएपछि थप विषय तथा कार्यक्रम विस्तार गर्न प्रोत्साहन मिलेको रजिष्ट्रार यादवले बताए ।
स्थापना भएको चार वर्षमै शैक्षिक दायरा विस्तार
मधेश प्रदेशसभाले २०७९ वैशाख १४ गते ‘मधेश विश्वविद्यालय ऐन, २०७९’ जारी गरेपछि सोही वर्ष भदौ २२ गते विश्वविद्यालय स्थापना भएको थियो । स्थापना भएको पहिलो वर्षमै विश्वविद्यालयले दुईवटा संकायअन्तर्गत पठनपाठन सुरु गरेको थियो । हाल विश्वविद्यालयले वीरगंजस्थित नेशनल ट्रेडिङको भवन लिजमा लिएर आफ्नो प्रशासनिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
विश्वविद्यालयले आगामी दिनमा शैक्षिक कार्यक्रमको संख्या मात्र बढाउने नभई अनुसन्धान र प्रशिक्षणलाई समेत शिक्षण प्रणालीको महत्वपूर्ण आधार बनाउने योजना अघि सारेको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले मधेश प्रदेशमै पहिलो अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार विश्वविद्यालयमा सञ्चालन भइरहेका कक्षामा विद्यार्थीको आकर्षण देखिएपछि थप विषयमा अध्ययन–अध्यापन विस्तार गर्ने योजना बनाइएको हो ।
स्वास्थ्य शिक्षामा पनि प्रवेश गर्ने तयारी
मधेश विश्वविद्यालयले आगामी दिनमा चिकित्सा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत स्वास्थ्यसम्बन्धी कार्यक्रमसँगै ‘एमबीबीएस’ पठनपाठन सञ्चालन गर्ने लक्ष्य विश्वविद्यालयले राखेको छ । तत्कालका लागि वीरगंजस्थित नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पताललाई आधार बनाएर एमबीबीएस कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गर्ने तयारी गरिएको उपकुलपति शाक्यले बताए । यसका लागि प्राविधिक टोलीमार्फत सम्भाव्यता अध्ययन गरिने विश्वविद्यालयको तयारी छ ।
एमबीबीएसजस्तो संवेदनशील र उच्च लगानी आवश्यक पर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी आफैंमा महत्वपूर्ण कदम हो । तर त्यसका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, प्रयोगशाला, अस्पतालको क्षमता तथा सम्बन्धित नियामक निकायका मापदण्ड पूरा गर्नुपर्ने चुनौती पनि विश्वविद्यालयसामु रहनेछ ।
एमफिल–पीएचडीदेखि फार्मेसी र आईटीसम्म योजना
विश्वविद्यालयले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउने उद्देश्यसहित भविष्यमा ‘एमफिल र पीएचडी’ कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरेको छ । त्यसैगरी फार्मेसी, विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि विश्वविद्यालयले अघि सारेको छ ।
यसले मधेशका विद्यार्थीलाई प्रदेशमै उच्च तथा प्राविधिक शिक्षा हासिल गर्ने थप अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । विश्वविद्यालयले शिक्षा र रोजगारीबीचको दूरी घटाउने उद्देश्यले सीपमा आधारित कार्यक्रमलाई समेत प्राथमिकता दिने जनाएको छ ।
‘मधेश स्किल स्कुल’ स्थापना गर्ने लक्ष्य
मधेश प्रदेशका ग्रामीण क्षेत्रका नागरिकलाई उच्च शिक्षाको मूलधारमा जोड्ने उद्देश्यले विश्वविद्यालयले ‘मधेश स्किल स्कुल’ स्थापना गर्ने योजना अघि सारेको छ । शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको लक्ष्य छ । विशेषगरी ग्रामीण तथा अवसरबाट वञ्चित समुदायका युवालाई रोजगारमुखी तथा व्यवहारिक सीप प्रदान गर्ने गरी स्किल स्कुलको अवधारणा अघि सारिएको विश्वविद्यालयले जनाएको छ ।
मधेश विश्वविद्यालयले छोटो समयमै एमबीए, एलएलबी र बीबीएसहितका नयाँ कार्यक्रम थपेर आफ्नो शैक्षिक दायरा विस्तार गरेको छ । अब विश्वविद्यालयका लागि चुनौती भनेको कार्यक्रमको संख्या बढाउनु मात्र नभई गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति, अनुसन्धान र रोजगारीसँग जोडिएको प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्नु हुनेछ । नयाँ कार्यक्रम विस्तारसँगै स्वास्थ्य, अनुसन्धान, प्रविधि र सीपमूलक शिक्षातर्फ अघि बढ्ने विश्वविद्यालयको योजनाले मधेशमा उच्च शिक्षाको नयाँ सम्भावना सिर्जना गरेको छ ।


















प्रतिक्रिया दिनुहोस् !