वीरगंज (पर्सा), २१ असोज । राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका वीरगंज–२३ निवासी डा. राजु बैठालाई वीरगंज महानगरपालिकाले विशेष सम्मान गरेको छ । भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट पीएचडी पूरा गरेका बैठालाई महानगर प्रमुख राजेशमान सिंहले खादा लगाएर सम्मान गरेका हुन् ।
बैठाले ‘वीरगंज महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कनः छानिएका सेवाहरूको अध्ययन’ शीर्षकमा अनुसन्धान गर्दै ‘डक्टर’को उपाधि हासिल गरेका हुन् । उनको अनुसन्धान वीरगंज महानगरपालिकाले नागरिकलाई उपलब्ध गराउँदै आएका सार्वजनिक सेवाको कार्यक्षमता, प्रभावकारिता तथा त्यसबाट प्राप्त परिणामको अध्ययनमा केन्द्रित छ ।
आफ्नो समुदायबाट पीएचडी उपाधि हासिल गर्ने आफू पहिलो व्यक्ति भएको डा. बैठाले बताएका छन् । शैक्षिक क्षेत्रमा हासिल गरेको उपलब्धिको सम्मानस्वरूप महानगरपालिकाले उनलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा महानगर प्रमुख सिंहले डा. बैठाको शैक्षिक उपलब्धिले वीरगंजको पहिचानलाई देशदेखि विदेशसम्म पुर्याउन योगदान गरेको बताए । महानगरको सेवा प्रवाहलाई नै विषय बनाएर अनुसन्धान गरी विद्यावारिधि हासिल गर्नु अझ महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो ।
‘डा. बैठाले आफ्नो शैक्षिक उपलब्धिबाट महानगरको नाम देश–विदेशमा उज्ज्वल बनाएका छन् । उनलाई महानगरको तर्फबाट सम्मान गर्न पाउँदा हामी सबै गर्वान्वित छौँ,’८८ प्रमुख सिंहले भने । सम्मान कार्यक्रममा डा. बैठाले आफ्नो अनुसन्धानका निष्कर्ष समेटिएको पुस्तकसमेत महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए ।
बैठाको अनुसन्धानले स्थानीय तहबाट नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवाको अवस्था, कार्यक्षमता र प्रभावकारितासँगै सेवा प्रवाहमा देखिएका चुनौतीलाई समेत समेटेको छ । अध्ययनले स्थानीय सरकारको सेवा प्रणालीमा सुधार गर्न सकिने सम्भावित क्षेत्र पहिचान गर्दै त्यसका लागि तथ्यमा आधारित आधार प्रस्तुत गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले अनुसन्धानबाट प्राप्त निष्कर्ष महानगरपालिकाका लागि उपयोगी हुनसक्ने बताए । अनुसन्धानले औँल्याएका विषयलाई आधार बनाएर महानगरको सेवा प्रवाहमा आवश्यक सुधार र कार्यान्वयन अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
सम्मान ग्रहण गर्दै डा. बैठाले आफूले प्राप्त गरेको उपलब्धिमा परिवार, समुदाय तथा शुभेच्छुकबाट पाएको प्रेरणा र सहयोग महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा पनि शिक्षा, अनुसन्धान र सामाजिक योगदानका माध्यमबाट क्षेत्रको विकासमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।


















प्रतिक्रिया दिनुहोस् !