कबिलासी (सर्लाही), १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका थिए ।
घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बरामद पेस्तोलमा गोली भने भेटिएको छैन । प्रहरीका अनुसार ठाकुरले मादक पदार्थ सेवन गरेकोसमेत पाइएको छ ।
प्रहरीले मोटरसाइकल, पेस्तोल र ठाकुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 















प्रतिक्रिया दिनुहोस् !