वीरगंज (पर्सा), १९ असोज । वन संरक्षणमा स्थानीय समुदायको योगदानबाट सिर्जना हुने कार्बन लाभलाई पारदर्शी र न्यायोचित रूपमा बाँडफाँट गर्दै समुदायको आवश्यकता र प्राथमिकताका क्षेत्रमा लगानी गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन लाभको बाँडफाँट, त्यसबाट प्राप्त रकमको लगानी योजना निर्माण तथा दिगो वन व्यवस्थापनका विषयमा जानकारी गराउने उद्देश्यले सोमबार वीरगंजमा एकदिने तालिम आयोजना गरिएको हो ।
‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नारासहित जिल्ला समन्वय समिति पर्साको सभाहलमा सम्पन्न तालिम सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, पर्साले आयोजना गरेको थियो । तालिममा सहभागीलाई कार्बन लाभको अवधारणा, त्यसबाट प्राप्त लाभ वितरणको प्रक्रिया, लगानी योजना निर्माण तथा सामुदायिक वनको दिगो व्यवस्थापनसँग जोडिएका विषयमा प्रशिक्षक निरञ्जन हुमागाईंले प्रशिक्षण दिएका थिए ।
कार्बन सञ्चितिबाट प्राप्त हुने लाभ समुदायको वास्तविक हितमा पुग्नुपर्नेमा जोड दिँदै कार्यक्रममा त्यसको वितरण प्रक्रियालाई पारदर्शी, समावेशी र न्यायोचित बनाउनुपर्ने धारणा राखिएको थियो । वन संरक्षण तथा व्यवस्थापनमा प्रत्यक्ष भूमिका निर्वाह गर्दै आएका स्थानीय समुदायलाई कार्बन लाभबाट प्राप्त अवसरमा उचित पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि सरोकारवालाले जोड दिएका थिए ।
तालिमको अध्यक्षता सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, पर्साका अध्यक्ष एकवाली प्रसाद यादवले गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल मधेश प्रदेशका अध्यक्ष सोम प्रसाद शर्मा, महासंघका केन्द्रीय सदस्य जयप्रकाश थारु, उषा थरुनी तथा जिल्ला समन्वय समिति पर्साकी सदस्य श्रीकान्ती देवीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वन संरक्षणका लागि स्थानीय समुदायले पुर्याउँदै आएको योगदान र सामुदायिक वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उपायबारे समेत छलफल गरिएको थियो । कार्बन लाभको रकम केवल वितरणमा सीमित नराखी समुदायको आवश्यकता पहिचान गरेर शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, जीविकोपार्जन तथा वन व्यवस्थापनजस्ता प्राथमिक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको थियो ।
आयोजकका अनुसार तालिममा सहभागीहरूले कार्बन लाभसँग सम्बन्धित नीतिगत व्यवस्था, लाभ बाँडफाँटको प्रक्रिया र लगानी योजना तयार गर्ने व्यावहारिक पक्षबारे जानकारी प्राप्त गरेका छन् । कार्बन बजार तथा वनबाट सिर्जना हुने वातावरणीय लाभको चर्चा बढिरहेका बेला सामुदायिक वन उपभोक्ता समूहलाई त्यसबाट प्राप्त हुने अवसरबारे स्पष्ट जानकारी दिन तालिम महत्वपूर्ण भएको आयोजकको भनाइ छ ।
तालिमले सामुदायिक वन उपभोक्ता समूहलाई वनको दिगो व्यवस्थापनसँगै कार्बन लाभलाई समुदायको हितमा उपयोग गर्ने योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । वन जोगाउने समुदायले नै कार्बन लाभको प्रत्यक्ष र न्यायोचित हिस्सा पाउने वातावरण निर्माण गर्न सके त्यसले वन संरक्षणसँगै स्थानीय स्तरमा हरित अर्थतन्त्रलाई समेत बलियो बनाउन सक्ने सहभागीहरूको निष्कर्ष थियो ।
















प्रतिक्रिया दिनुहोस् !