वीरगंज (पर्सा), १२ भदौ । पूर्वमन्त्री प्रदीप यादवले रसुवा, नुवाकोट र धादिङमा बाढी–पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवासहित नुवाकोट र धादिङमा ठूलो क्षति भएको, कैयौँ नागरिकले ज्यान गुमाएको, घरबार उजाडिएको र धेरै व्यक्ति अझै बेपत्ता रहेको अवस्थाप्रति यादवले दुःख व्यक्त गरेका हुन् ।
उनले रसुवामा भएको ठूलो क्षतिसँगै नुवाकोट र धादिङमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । बेपत्ता आफ्ना प्रियजनको अवस्थाबारे खबरको प्रतीक्षामा रहेका परिवारको पीडाप्रति समेत उनले चिन्ता व्यक्त गरेका छन् । भोटेकोशी र त्यसपछि त्रिशूली नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ । बाढी तथा पहिरोका कारण घर, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको छ भने कैयौँ परिवार विस्थापित भएका छन् । बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य जारी छ ।
यादवले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सबै निकाय उद्धार र राहतमा जुटिरहेको उल्लेख गर्दै उद्धार तथा राहतसँगै पुनर्निर्माणको काम पनि यथाशीघ्र तीव्र बनाउन आग्रह गरेका छन् । उनका अनुसार विपत्तिमा घरबार गुमाएका तथा आफन्त गुमाएका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुका साथै उनीहरूलाई सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्छ । ‘विपत्तिमा परेका परिवारले सकेसम्म चाँडो आफ्नो जीवनलाई सामान्य अवस्थामा फर्काउन सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो’ भन्ने धारणा राख्दै यादवले पुनर्निर्माणमा ढिलाइ हुँदा पीडित परिवारको दुःख झन् लम्बिने बताएका छन् ।
बाढी–पहिरोका कारण प्रभावित क्षेत्रमा अझै त्रास र अनिश्चितता कायम रहेको भन्दै उनले बेपत्ता नागरिकको खोजी कार्यलाई थप प्रभावकारी बनाउनसमेत आग्रह गरेका छन् । प्रभावित परिवारका लागि अहिले आफ्ना प्रियजन सुरक्षित छन् भन्ने खबर नै सबैभन्दा ठूलो आशा बनेको उनको भनाइ छ । यादवले प्राकृतिक विपत्तिको यस दुःखद घडीमा राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । सुरक्षा निकाय, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा नागरिक समाजलाई समेत राहत र उद्धारमा सहकार्य गर्न उनले आग्रह गरेका छन् । प्रकृतिको एकैपटकको प्रहारले सयौँ परिवारको जीवन प्रभावित भएको उल्लेख गर्दै यादवले विपत्तिबाट पाठ सिकेर भविष्यमा नदी तटीय बस्तीको सुरक्षा, पूर्वसूचना प्रणाली तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतासमेत औँल्याएका छन् ।
उनले बाढी–पहिरोमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई दुःख सहने शक्ति मिलोस् भन्ने कामना गरेका छन् । साथै, बेपत्ता नागरिकको शीघ्र खोज तथा उद्धार र प्रभावित सबै परिवारको सुरक्षित पुनर्स्थापनाका लागि सरकार तथा सम्बन्धित निकायलाई गम्भीरतापूर्वक काम गर्न आग्रह गरेका छन् । ‘अहिलेको प्राथमिकता जीवन बचाउनु हो, त्यसपछि उजाडिएका घर–परिवारलाई पुनः उभ्याउनु हो’ भन्ने सन्देशसहित यादवले राहत, उद्धार र पुनर्निर्माणलाई एकसाथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।’







प्रतिक्रिया दिनुहोस् !